काठमाडौँ / सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर निष्काशन गर्नेछ, जसको कुल रकम १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ हुनेछ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस ९ऋब्च्भ्ल्ए द्यद्य(०’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइनबाट समेत आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन र बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद सेयर बिक्रीबाट सङ्कलन हुने रकम ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।