काठमाडौँ / महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वित्तीय सुधार गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म खुद नाफा बढेर ५० करोड ५०.०३ रुपैयाँ रहेको छ ।
उक्त बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ। बैंकले असार मसान्तसम्म रु. ५६.२२ अर्ब निक्षेप सङ्कलन गरेको छ भने ४५.८५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रतिशतले बढेको हो।
कर्जा परिचालनमा सुधारका कारण सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८३.९८ प्रतिशत कायम भएको छ। बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र परेको छ।
साथै बैंकको पुँजी पर्याप्यता पर्याप्त रहेकाले आगामी दिनहरुमा व्यवसाय विस्तारमा कुनै पुँजीगत दबाब नपर्ने देखिन्छ। वित्तीय विवरण अनुसार असार मसान्तसम्मको कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशतले घटेको छ।
कोष लागत कम हुँदा बैंकको आधार दरमा पनि सकारात्मक असर परेको छ। बैंकको आधार दर २०८२ साउन मसान्तसम्म ६.५४ प्रतिशत रहेको छ, जसले ऋणीले लिने ऋणको ब्याजदर कम हुने र ऋणीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
हालै बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासँगै बैंकले देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।