स्याउ बगैँचाभित्र अन्तरबाली, दोहोरो मुनाफा कमाउँदै किसान

स्याउ बगैँचाभित्र अन्तरबाली, दोहोरो मुनाफा कमाउँदै किसान

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • स्याउ बगैँचाभित्र अन्तरबाली, दोहोरो मुनाफा कमाउँदै किसान

    मुस्ताङ / यहाँका स्याउ बगैँचाभित्र विभिन्न किसिमका हिउँदे तथा बर्खेबाली लगाउने प्रचलन विद्यमान छ । यहाँका किसानले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा, उवा, फापर, जौ, मकै, तोरी, सिमी, बोडी, आलु, तरकारीलगायत अन्नबाली उत्पादन गरी दोहोरो मुनाफा कमाउँदै आएका छन् । 

    images
    images

    पछिल्लो समय घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान तेज गुरुङ (ताङ्वे)ले आफ्नो स्याउ बगैँचाभित्र अन्नबालीको विकल्पमा ‘राई घाँस’ उत्पादन गर्दै आएका हुन् । हिउँदयाममा घाँसको अभाव हुने भएकाले वैकल्पिक खेतीमा जोड दिएको उनले बताए । 

    हिउँदयाममा पशुचौपायालाई खुवाउन र बढी भएको घाँस बिक्री गर्न सकिने भएकाले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा राई घाँस उत्पादन गर्दै आएको किसान ताङ्वेले बताए । गत पुस–माघमा बगैँचाभित्र छरेको घाँस उम्रिएर अहिले हरियाली भएको उनको भनाइ छ । 

    घरपझोङका किसान ताङ्वे यतिबेला स्याउ बगैँचाभित्र लगाइएको घाँस स्याहार्न व्यस्त छन्। उक्त घाँस परम्परागत पद्धतिबाट नभई आधुनिक उपकरण ‘हाते रिफर’का माध्यमबाट काट्न थालेको उनले जानकारी दिए । 

    परम्परागत पद्धतिबाट घाँस काट्दा जनशक्ति बढी लाग्ने भएकाले आधुनिक उपकरण प्रयोग गरिएको बताउँदै उनले यसबाट समय बचत हुने, आर्थिक भार कम पर्ने, उपयोगी र कम झन्झटिलो भएको उल्लेख गरे । 

    “घाँस काटेर बगैँचाभित्रै बिस्कुन सुकाएको झै दुई–तीन दिनसम्म सुकाउनुपर्छ । यसरी सुकाइएको घाँसलाई बेलाबेलामा हातले वा लठ्ठीको सहायताले पल्टाउनुपर्छ । यसो गर्दा घाँस छिटो सुक्छ”, उनले भने । 

    घाममा सुकाइएको घाँसलाई सिधैँ भण्डार गरेर सुरक्षित राख्न सकिने ताङ्वेले जानकारी दिए। “कतिपयले सुकुटीलाई चुल्ठी पारेर थन्क्याउने गर्छन् । यसरी आलो घाँसलाई सुकटीका रूपमा तयारी गर्दा हिउँदयाममा घाँसको अभाव हुँदा पशुचौपायालाई खुवाउन सजिलो हुन्छ”, उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय