images
Logo
images

बागमती प्रदेशको छैठौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए शपथ, को हुन् उनी ?

बागमती प्रदेशको छैठौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए शपथ, को हुन् उनी ?

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • बागमती प्रदेशको छैठौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए शपथ, को हुन् उनी ?

    हेटौँडा / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

    images
    images

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् । 

    नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा यी दुई दलका कुल ६४ सांसदहरूको समर्थन रहेको छ ।

    मकवानपुर निवासी बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन् । मुख्यमन्त्री बानियाँले चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गगरेका हुन् । 
     
    कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति हुन् । विसं २०४४ मा राजनीतिमा प्रवेश गरेका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका थिए । 
     
    विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति भएका थिए । 
     
    विसं २०५८ मा कांग्रेस मकवानपुरका जिल्ला कार्यसमिति सदस्य भएका बानियाँ २०७३ साल चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए । 
     
    विसं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका थिए । 
     
    विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भई काम गरिसकेका छन् । 
     
    विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिएका थिए ।
     
    विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उनी संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए ।
     
    यही साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो ।
     
    रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित भए। लामाले १४ मत मात्र प्राप्त गरेका थिए एक मत बदर भएको थियो । 
     
    बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । 
     
    राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा एक विश्वासिलो व्यक्तिका रूपमा चिनिन्छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय