काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरू भइरहेको बताएका छन् ।
आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरूले पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरू गर्ने र जालझेलहरू भइरहेको बताए ।
उनले भने, “हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरूले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरू गर्ने, जालझेलहरू गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन् ।”
त्यस्तै उनले प्रतिक्रियावादीलाई परास्त गर्न एकपटक फेरि नयाँ विद्रोहको आवश्यकता रहेको बताउँदै त्यसको तयारी पार्टीले गरिरहेको बताए ।
उनले भने, “एकचोटि फेरि नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अगाडि बढ्दै छौँ । नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ हिडिरहेको छौँ । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो । र यसको तयारी पनि गरिरहेको छु ।”
उनले सबै जिल्लामा हजारौँको सङ्ख्यामा सहिदहरूको रगत बगेको बताउँदै अध्यक्ष प्रचण्डले अहिले त्यसको महानता र कृतिलाई अपमानित गर्न ठुलो कसरत भइरहेको बताए ।