काठमाडौँ / झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गरेको छ ।
कम्पनीले गत असार ३१ गते प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले कुल ४ लाख ३७ हजार २१९ कित्ता आइपिओ जारी गरेको छ । जसमध्ये प्रत्यक्ष प्रभवित क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि ५७ हजार २९ कित्ता आईपीओ जारी गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम् १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिनेछ । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आइपिओ जारी गर्नेछ ।