काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादन र आयात गरिएका सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) एमआरपीसहितको लेबल नलगाई वस्तु बिक्री गर्न नपाइने व्यवस्था लागू गरेका छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा २ (च) मा उल्लेख भएको ‘बिक्रीका लागि बजार पठाउने वस्तुको लेबलमा उक्त वस्तुको मूल्य, ब्याच नम्बर र उत्पादन मितिलगायत ६ थरी विवरण खुल्ने लेबल टाँस्नुपर्ने’ प्रावधान गत चैत २० देखि अनिवार्य गरेको हो ।
स्वदेशमा उत्पादन वा विदेशबाट आयात गरिएका सबै वस्तुमा एमआरपी अनिवार्य रूपमा उल्लेख गर्न विभागले कडाइ गरेको छ । तर व्यापारीहरूले भने विरोध गरिरहेका छन् ।विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा पारदर्शिता कायम गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न एमआरपी अनिवार्य गरिएको जानकारी दिए ।
केही बिचौलियाहरू,चोरीका सामान ल्याउने, कालो बजारी गर्ने र सिमामा तस्करी गर्नेहरू एमआरपीको विपक्षमा खडा भएको आरोप लगाउँदै उनले यसरी एमआरपी लागु गरेर बजारमा नियमको स्थापना गर्नु एउटा राष्ट्र निर्माणको काम भएको तर्क राखे ।
उनले भने, “आयातकर्ता र उद्योगीहरूको उत्पादन र वस्तुको विषयमा एमआरपी लगाउने कोशिस गरिरहेका छौँ । कानून अनुसारको प्रयास हो । र एमआरपी लगाउने काम भनेको राष्ट्र निर्माणको काम हो । हामी यसको सुरुवातमा छौँ । यहाँ जसले जति मन लाग्छ त्यति लिने हो भने त हामी झन अनिश्चितता तिर जान्छौँ । बजारमा नियमको स्थापना गर्नु भनेको पनि एउटा राष्ट्र निर्माणको काम हो । त्यसकारण सबैजना खुशी हुनुहुन्छ । केही बिचौलियाहरू, चोरीका सामान ल्याउने, कालो बजारी गर्ने, सिमामा तस्करी गर्नेहरू एमआरपीको विपक्षमा छन् । कर नतिर्नेहरूको आवाज पनि हो । एमआरपी नलगाउने भन्ने कुरा, यीनिहरूलाई पनि नियममा ल्याउँछ ।”
त्यस्तै उनले अहिले बजारमा खराब व्यापारीबाट राम्रा व्यापारीहरूलाई दबाउने र निरुत्साहित गराउने काम भएको भन्दै एमआरपीले यस्ता कुरालाई नियन्त्रण गर्ने र व्यक्ति विशेष पहुँच घटाउने काममा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, “अहिले बजारमा के भइरहेको छ भने खराब व्यापारीले आफ्नो पहुँचको आधारमा राम्रा व्यापारीहरूलाई दबाउने, निरुत्साहित गराउने काम गरेको छन् । एमआरपीले यस्ता कुरालाई नियन्त्रण गर्ने र पहुँच घटाउने काम गर्छ । सहज तरिकाले जाने हो भने यस्तो कानून केही पनि चाहिदैँन् भनेर घोषणा गर्नुपर्यो होइन भने यसलाई अनिवार्य गर्नुपर्छ । यो ७५ सालमा आएको ऐन हो, यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने विभागको मान्यता हो ।”
देशभित्र कानूनको शासन लागू गरी बजारलाई बजार जस्तो बनाउने उद्देश्यले यो काम सुरु गरेको महानिर्देशक दाहाल बताउँछन् । एमआरपीलाई अनिवार्य रूपमा लागू गरेपछि बजारलाई अनौपचारिकताबाट जोगाएर सहि व्यापारी र आयातकर्तालाई प्रोत्साहन गर्ने उनको दाबी छ ।
उनले एमआरपी नलगाएको सामानहरू चोरी, कालो बजारीका हुन सक्ने भएकाले उपभोक्ताहरूलाई एमआरपी नलगाएको सामान खरिद नगर्न सुझाव समेत दिए ।
तर, व्यवसायीहरूले एमआरपी अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गरिरहेका छन् । नेपाल राष्ट्रिय व्यवसायी संघको अध्यक्ष मनोजबाबु श्रेष्ठले एमआरपी लागु गर्दा व्यवसायमा विभिन्न जटिलताहरू देखिने भएकाले निर्णय तत्काल पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
उनले भने, “सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागु गर्ने निर्णय त एमआरपी लगाउन हामी तयार छौँ । तर केही विविध जटिलताहरू यसमा भएको कारण केही कुराहरू परिमार्जन गर्नुपर्ने हाम्रो माग छ ।”
यस्तै, सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने र व्यवसाय नै छोड्न बाध्य बनाउने खतरा रहेको उनी बताउँछन् । परिमार्जन गरेर व्यवस्था लागु गर्न बारम्बार माग गर्दा पनि राज्यले नसुनेको बताउँदै उनले बजार भयावह अवस्थामा रहेको बेला चेकजाँच गर्ने र धरपकट गर्ने काम राज्यबाट नगर्न आग्रह गरे ।
उनले भने, “सबै वस्तुमा एमआरपी लागु गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने तथा व्यवसाय नै छाड्न बाध्य बनाउने खतरा छ । पहिलेदेखि एमआरपी लागु गर्ने कुरामा केही अप्ठ्याराहरू थिए । परिमार्जन गरौँ भनिराखेको छौँ । तर राज्यले सुनिरहेको छैन । बजार भयावह अवस्थामा छ । यो अवस्थामा आउने चेकजाँच गर्ने धरकपट गर्ने काम राज्यले नगरोस् ।”
एमआरपी लागु गर्ने भन्दा पनि हुने आयात गरेको सामानहरू सन्दर्भ मूल्यबाट आइरहेको र धेरै भन्सार महसुल दरबन्दीहरू बताउँदै उनले बन्दीलाई न्यूनीकरण गर्न, र खुला सिमानाको कारण भएको चोरी पैठरी पूर्ण रूपमा नियन्त्रण गर्न सुझाव दिए ।
“अहिले जति पनि आयात गरेको सामानहरू छ । त्यो सन्दर्भ मूल्यबाट आइरहेको छ । धेरै भन्सार दरबन्दीहरू छ । दरबन्दीलाई न्यूनिकरण गरियोस् । जति पनि साना उद्योगीहरू छन् । यो भारतबाट आइरहेको खुला सिमानाको कारण भएको चोरी पैठरी पूर्ण रूपमा नियन्त्रण गरियोस् अनि मात्र व्यवसायीहरूले खुला रूपमा व्यापार व्यवसाय गर्न सक्छन्,” उनले भने । यसरी व्यापारीहरूको विरोधसँगै सरकारलाई एमआरपी लागु गर्न थप दबाब सृजना भएको छ ।