धनगढी/ कैलाली डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।
हिजो सोमबार जिल्लाको चुरे गाउँपालिका–६ मा अवस्थित ग्वासी सामुदायिक वनबाट काठको बिमर्का र छोडपूर्जी दिलाइदिने भन्दै सेवाग्राहीसँग मागिएको घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
बरिष्ठ अधिकृत यादवले सात लाख एकतीस हजार रुपैयाँ घुस बुझेको सूचना एवं उजुरीको आधारमा आयोगले सोमबार डिभिजन वन कार्यालय, धनगढीमै उनलाई समातेको छ ।
पक्राउपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।
अख्तियारले भ्रष्टाचारविरुद्धको कडाइलाई प्रभावकारी बनाउँदै यस्ता कार्यमा संलग्न पदाधिकारीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने बताएको छ।