काठमाडौँ / नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले देशमा बिमा बजारको क्षमता बढाउन स्पष्ट कार्ययोजनाका साथ सहयोग गर्न पुनर्बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बिमा प्राधिकरणद्वारा बिमक, पुनर्बीमक तथा पुनर्बीमक ब्रोकरहरूसँग आज काठमाडौँमा आयोजित पुनर्बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बिमा बजारको विकासका लागि प्रारम्भिक, मध्यम र उच्चस्तरको क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा कार्ययोजना बनाएर प्राधिकरणमा पेश गर्न निर्देशन दिए ।
अध्यक्ष ओझाले भने,“पुनर्बीमा क्षेत्रमा भएका अस्पष्टतालाई क्रमशः सुधार गर्दै जानुपर्छ, पुनर्बीमा कम्पनीहरू प्रतिस्पर्धी हुनैपर्छ, हामी नीतिलाई स्थिरता दिन्छौँ, प्राधिकरणमा एकीकृत निर्देशिका बन्ने क्रममा छ, एकीकृत निर्देशिकामा बिमकका सुझावहरूलाई सम्बोधन गर्ने प्रयास गर्छौं ।”
बिमा ऐन, नियम, निर्देशिका र कार्यविधि कार्यान्वयनमा सहजीकरण गर्न प्राधिकरणमा टिम तयारी अवस्थामा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले भने, “बिमा ऐन, नियम, निर्देशिका र कार्यविधि कार्यान्वयनमा प्राधिकरण थप कठोर हुन्छ, गलत अभ्यासलाई नियन्त्रण गर्नुपर्छ, दैनिक रूपमा बिमा दाबी सम्बन्धी धेरै गुनासा आउने गरेका छन्, यो बिमा क्षेत्रको गम्भीर समस्या हो, बिमितले बिमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, बिमकले प्रिमियम संकलन र दाबी भुक्तानीलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्छ ।”
अध्यक्ष ओझाले बिमा क्षेत्रलाई परिपक्व बनाउँदै अगाडि बढाउनका लागि सरकार, प्राधिकरण, बिमक, लघुबिमक र पुनर्बीमकलगायत सम्बद्ध सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
यसमा जिम्मेवारीपूर्वक इमान्दारिताका साथ सघाउन प्राधिकरण तयार रहेको उनको भनाइ छ । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्दै बिमा क्षेत्रको प्रवद्र्धन गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भ राज लामिछानेले पुनर्बीमा सम्बन्धी समग्र विषयमा छलफल गरी सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, बिमा कम्पनी, लघुबिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा पुनर्बीमा विभागका प्रमुखहरू र पुनर्बीमक ब्रोकरहरूको सहभागिता रहेको थियो ।