सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरूसँगको भेटघाटमा व्यस्त छन् । नेपाललाई लोडसेडिङ मुक्त गराएको, वर्षौँदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको र भारत तथा बङ्लादेससम्म बिधुत निर्यात गरेको जस पाएका घिसिङ विश्वका विभिन्न देशमा पुगेर शुभचिन्तक एवम शुभेच्छुकहरूसँग अन्तक्रिया गर्ने योजनामा छन् । मध्यपूर्व देशहरूको भ्रमणमा निस्किनुअघि घिसिङसँग गरिएको कुराकानीको सम्पादित अंशः प्रस्तुत छः
प्राधिकरणबाट बाहिरिएपछि अहिले के मा व्यस्त हुनुहुन्छ ?
प्राधिकरणबाट बिदा भइसकेपछि मलाई फुर्सद भयो । फुर्सदमा विभिन्न किसिमका छलफल, बहस, सुझावहरू लिने काम गरिरहेको छु । आगामी दिनमा के गर्ने भन्ने विषयमा पनि विभिन्न साथीभाई, एक्सपर्ट सबैसँग छलफल गरिरहेको छु । फुर्सदको समयमा आफ्नो व्यक्तिगत काम पनि गर्छु । त्यसकारण म व्यस्तै छु ।
फुर्सद भनेर प्राधिकरणबाट बाहिर आउँदाखेरी हिजो गर्न नपाएका र हिजो भेट्न नपाएका साथीभाइहरूलाई भेट्न पनि पाएको छु । मैले आफ्नो योग्यता र करिब ३० वर्षको अनुभवलाई सदुपयोग गर्नुपर्नेछ । मेरो उमेर पनि अझैं बाँकी छ । त्यसकारण देश र जनताको लागि बढीभन्दा बढी योगदान कहाँबाट, कसरी गर्न सकिन्छ, कुन क्षेत्रबाट गर्न सकिन्छ भन्ने छलफल र सुझावहरू लिइरहेको छु । जहाँबाट बढीभन्दा बढी योगदान दिन सकिन्छ, म त्यहीँ क्षेत्रमा लाग्छु ।
तपाइँको अहिलेको विदेश भ्रमण कुन उद्देश्यले हो ? कुन कुन देशको भ्रमण गर्दै हुनुहुन्छ ?
म यो फुर्सदको बेलामा देशबाहिर रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई पनि भेटघाट गर्ने चरणमा छु । पहिला काम गर्दाखेरी धेरै वर्षसम्म फुर्सद पनि भएन् । त्यसले गर्दा भेट्ने अवसर पनि भएन र मैले आफैंले बुझ्ने मौका पनि पाएन् ।
त्यसैले यस पटक मैले सुरुवाती चरणमा खाडि मुलुकहरूलाई छानेको छु । अहिलेको भ्रमणचाहिँ बहराइन, युएइ, ओमन र कतार गरी चारवटा देशमा छ । जुलाई २ देखि ४ तारिखसम्म म बहराइनमा हुन्छु । जुलाई ५ देखि ८ तारिखमा म युएइमा हुन्छु, जुलाई ९ देखि १० सम्म ओमन र जुलाई ११ देखि १३ सम्म कतारमा हुन्छु ।
यी देशहरूमा भ्रमण गरेर मैले नेपाली दाजुभाई दिदीबहिनीहरू जो विदेशी भूमिमा पसिना बगाएर नेपालको, परिवारको सपना बोकेर त्यहाँ बस्नु भएको छ उहाँहरूको जीवन संघर्ष, अनुभूती बुझ्ने मौकाको रूपमा पनि मैले यस भ्रमणलाई लिएको छु । अहिलेसम्मको मेरो अनुभव पनि साटासाट गर्ने अवसर पनि हो ।
खाडी मुलुकको जुन एउटा विकास समृद्धिको अवस्था छ । पछिल्लो ३०/३२ वर्षमा जुन हिसावले विकास भएको छ, करोडौँ मान्छेलाई रोजगारी दिने अवस्थामा पुगेका छन् । एउटा समृद्ध देशका रूपमा अघि बढेको छ ।
त्यसको अनुभव लिनका लागि र अवस्था बुझ्नका लागि पनि मलाई यस भ्रमणले सहयोग गर्छ भन्ने जस्तो लाग्छ । र यस क्रममा विभिन्न ठाउँमा नेपाली दाजुभाई दिदीबहिनीहरूले कार्यक्रम वा अन्तर्क्रिया, छलफल, सम्मान, नागरिक अभिनन्दन गर्ने भन्ने हिसाबले पनि उहाँहरूले कार्यक्रमहरू राख्नु भएको भन्ने मैले थाहा पाएको छु । उहाँहरूसँग बसेर अन्य विषयमा पनि छलफल गर्ने नै छु ।
विदेशबाट भित्रिएको रेमिट्यान्सलाई उर्जा विकास वा राष्ट्र निर्माणमा कसरी उपयोग गर्न सकिएला ?
नेपालको जीडीपीको करिब एक चौथाई वैदेशिक रोजगारीबाट प्राप्त हुन्छ । बर्षको करिब करिब १५/१६ खर्ब रुपैयाँ वैदेशिक रोजगारीबाट आउँछ । त्यसमध्ये ५० प्रतिशतभन्दा बढी चाहिँ गल्फमा भएका नेपाली दाजुभाइहरूबाट आउँछ र त्यसमा करिब करिब १३ देखि १५/१६ लाखसम्म नेपाली दाजुभाइ दिदीबहिनीहरू गल्फका ६ वटा देशमा छन् । यो चाहीँ नेपालमा औपचारिक रूपमा मात्रै आएको रेमिट्यान्स हो । अनौपचारिक हिसाबले कति आइरहेको छ होला । यस हिसाबले नेपालमा करिब २० खर्बको हाराहारीमा रेमिट्यान्स आउने गरेको छ ।
उक्त रेमिट्यान्स हामीले नेपालको विकासको लागि सही सदुपयोग गर्न सक्यौँ भने नेपालको उत्पादन क्षेत्र धेरै छन् । त्यसमध्ये हाइड्रो पनि हो । विद्युत क्षेत्रमा हामीले लगानी गर्न सक्यौँ त्यसको लागि सरकारले एउटा आत्मविश्वास, ग्यारेन्टी वा लिडरसिप दिन सक्यो अर्थात यस क्षेत्रमा गरेको लगानी डुब्दैन भनेर रिर्टनको ग्यारेन्टी दिन सक्यो भने ठूलो लगानी यहाँबाट आउँछ ।
वर्षको १० प्रतिशत मात्रै लगानी भयो भने २ खर्बको लगानी हुन्छ । २ खर्ब भनेको त ठुलो लगानी हो । यस हिसाबले १० वर्षमा २० खर्ब लगानी हुन्छ । कतिवटा हाइड्रो पावर बन्छ ? हाइड्रो पावरमा वर्षमा २ खर्ब खर्च गर्नलाई गाह्रो हुन्छ । त्यसकारण सरकारको सही भिजन, लिडरसिप, पोलिसी भएमा त्यो गर्न सकिन्छ । यो त विदेशबाट आउने रेमिट्यान्सको मात्रै कुरा हो । नेपाल भित्रैको नेपाली जनताको लगानी पनि ल्याउन सकिन्छ । स्वदेशी बैंक र गल्फ बाहेक अन्य देशमा बस्ने नेपालीको समेत लगानी ल्याउन सक्ने हो भने नेपालमा वर्षको ४/५ खर्बको लगानी गर्नको लागि समस्या छैन ।
तर, त्यसका लागि जनतामा विश्वास र आत्मविश्वास जगाउनु आवश्यक छ । सरकार वा लिडरसिपप्रति सबैको विश्वास हुनुपर्यो र लगानी गर्ने व्यक्तिको आत्मविश्वास र ग्यारेन्टी सरकारले लिनुपर्छ । नेपालमा लगानीको समस्याको विषय नै छैन । केवल विश्वासको कमी छ ।
प्रवासमा कयौँ नेपालीहरू जेलमा छन् । कयौँ नेपालीको शव फिर्ता ल्याउन सकिएको छैन । यसमा सरकारले के गर्नुपर्ला ?
विदेशमा बस्ने नेपालीहरू धेरै नै समस्यामा छन् । समस्या मात्रै हा्ेइन राम्रा विषय पनि छन् । रोजगारी पनि पाइरहेका छन् । यद्यपि, कानुनी र व्यवहारिक रूपमा समस्या चाहिँ धेरै छन् । त्यो समस्या मध्येमा मान्छेहरू वितिसकेपछि पनि नेपालसम्म शव ल्याउनका लागि महिनौँ/वर्षौँ लाग्ने गरेको छ । त्यहाँको कानुन वा प्रक्रियाको कारणले धेरै नै समस्याहरू छन् ।
मैले होम कार्कीले ज्युले लेख्नु भएको एउटा किताब पढ्न पाएको थिएँ । उहाँ आफैँ पनि १०/१२ वर्ष गल्फमा बस्नु भएको रहेछ । त्यो किताबमा त्यहाँको समस्याको बारेमा उहाँले धेरै नै लेख्नु भएको छ । उहाँले त्यहाँको धेरै पक्ष केलाउनु भएको छ । जस्तै त्यहाँका क्याम्पहरूको समस्यादेखि लिगल र व्यवहारिक समस्याका बारेमा उल्लेख गर्नु भएको छ । मलाई त्यो किताब एकदमै मन परेको थियो ।
मान्छे विदेशमा बितेको छ तर ल्याउन सकिएको छैन । यो विषय पनि एकदमै गम्भीर विषय हो । त्यसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ एउटा कारण के पनि रैछ भने यत्रो १५ लाखभन्दा बढी जनसङ्ख्या भएको देशमा हाम्रो दूतावासहरूमा म्यानपावर नै छैन भन्ने पनि छ । थोरै मात्र म्यानपावर भएकाले दूतावासले नेपालीका समस्या सुन्न पनि भ्याउँदैन । त्यसकारण कसरी समस्या समाधान गर्ने भन्ने बारेमा ध्यान नै दिन सकिएको छैन । यस्ता धेरै विषयमा पनि नेपाल सरकारले विशेष रूपमा हेर्नुपर्छ ।
वास्तवमा भन्ने हो भने नेपालमा हामीले रोजगारीको विषयलाई पहिलो प्राथमिकतामा राखेर सरकार र निजी क्षेत्र सबैले यो विषयलाई फोकस गर्नुपर्ने हुन्छ । रोजगारीको विषय नै नेपालको पहिलो समस्या हो । सबै नेपाली नेपाल फर्कनुपर्छ भनेर मात्रै भएन नि उनीहरूका लागि रोजगारीको वातावरण त बनाइदिनुपर्यो ।
गल्फको ५० डिग्रीको घाममा महिनाको ३०÷३५ हजार तलबका लागि उँट पालेर बस्नुपर्ने अवस्था छ । हाम्रोमा बाख्रापालन गर्दा त्यो भन्दा बढी कमाउन सकिन्छ । तर त्यसका लागि वातावरण त बनाइदिनु पर्यो नि । तरकारी खेती गरेर त्यसको बजार व्यवस्थापन हामीले किन गर्न सकेनौँ ? टमाटर, गोलभेँडा र आलु खेती गरेर त्यसको मूल्य पाइँदैन भने कसरी यहाँ रोजगारी सिर्जना हुन्छ ? कृषिमा व्यापक रोजगारी सिर्जना गर्न सकिन्छ ।
त्यसैगरी हाइड्रो क्षेत्रमा पनि रोजगारीको अवसर राम्रो छ । यति धेरै हाइड्रो बनाउनुपर्ने छ कि हामी त सुरुवाती चरणमा छौँ नि भर्खर सुरु गरेका छौँ । हजारौँ मेगावाटको हाइड्रो पावरहरू बनाउनु पर्नेछ । २०औँ हजार मेगावाट हाइड्रोपावर निर्माण गर्दा लाखौँ मान्छेले त्यहाँ रोजगारी पाउँछन् ।
म बहराइनमा जाँदैछु । त्यहाँ नेपालीहरू मरुभूमीमा प्रसारण लाइनको तार तानिरहेका छन् । हाम्रो यहाँ पनि प्रसारण लाइन र हाइड्रो पावरमा कति काम छ तर सबै बाहिरबाट कामदार ल्याइन्छ । यो चाहिँ सरकारको नीतिको विषय भयो । त्यसैगरी आईटी, टुरिज्मलगायतका क्षेत्रमा यति धेरै रोजगारी सिर्जना गर्न सकिन्छ । तर, सरकारले त्यसको वातावरण बनाउनुपर्छ । हामी बाहिर गर्न सक्छौँ भने यहाँ किन गर्न सक्दैनौँ ?
हामी तीन करोड जनसङ्ख्या भएको मुलुकले ५० लाखभन्दा बढी युवालाई विदेश पठाइरहेका छौँ । तर, कतारमा ३ लाख ५० हजार जनसङ्ख्या रहेछ । उसले करिब करिब २५ लाख विदेशी मान्छेलाई रोजगारी दिइरहेको छ ।
उसले आफ्नो जनसङ्ख्याभन्दा ८० प्रतिशत धेरै मान्छेलाई रोजगारी दिइरहेको छ । गरेपछि हुँदो रहेछ । त्यसकारण हामीले पनि आफूसँग भएका स्रोतहरूको सदुपयोग गर्न सक्नुपर्छ । सम्भावना नै सम्भावना भएको मुलुकमा हामीले रोजगारी नै सिर्जना गर्न सकेनौँ त्यसकारण रोजगारी नै नेपालको सबैभन्दा मुख्य समस्या हो । यसको समाधानका लागि सरकारले भूमिका खेल्नुपर्छ । विदेशमा सिप सिकेका नेपालीलाई यहाँ फर्किएर काम गर्ने वातावरण बनाइदिनुपर्छ ।
महँगो ऋण लिएर रोजगारीको लागि विदेश जाने युवालाई बिचौलियाहरूले योजनाबद्ध रूपमा ठग्ने गरेका छन् । अब त सरकारी संयन्त्र पनि युवाहरूलाई ठग्न र अवैध असुली गर्न सक्रिय रहेको आरोप लागेको छ । यसबारेमा के भन्नुहुन्छ ?
नेपालको अर्थतन्त्र, सुशासन र सबैकुरा बिगारेको बिचको मान्छे ले नै हो । गोलभेँडा रोप्ने किसानले १० रुपैयाँ पाउँछ भने बिचको मान्छेले ४० रुपैयाँ नाफा गरेर ५० रुपैयाँमा बेच्छ । अनि किसानले किन गोलभेँडा खेती गर्ने त, बिचौलिया त त्यहाँ पनि छ नि । तल्लोदेखि माथिल्लो निकायसम्म बिचौलिया नै छन् त्यसैगरी विदेशमा पठाउनेमा पनि विचौलिया नै संलग्न छन् । जसले गर्दा धेरै नेपाली दाजुभाइहरू श्रम शोषणमा परेका वा ठगिएका छन् भन्ने सुनिन्छ ।
विदेशमा हाम्रो चेलीहरूमाथि र दाजुभाइहरू माथि जुन किसिमको व्यवहार भएको छ । त्यसलाई समाधान गर्न सरकारको तर्फबाट पहल हुनुपर्ने हो । रेमिट्यान्स आर्जन गर्ने युवाहरूको समस्या कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सरकारले सोच्नुपर्छ ।
विदेशमा जाने महिला कामदारहरूलाई त झन एकदमै सिप सिकाएर पठाउनुपर्छ । साथै महिला हिंसा अत्यधिक मात्रा खेपिरहेको ठाउँमा सरकार पनि होसियार रहन जरुरी छ । त्यसका लागि राजदूतावासलाई नै व्यवस्थापन गर्नुपर्ने हुन्छ । एकदमै जोखिमयुक्त क्षेत्रमा काम गर्न पनि पठाउनु भएन । पठाउनै परेमा सिप सिकाएर मात्रै पठाउनुपर्छ ।
भविष्यमा तपाइँ राजनीतिमा आउनुभयो भने प्रवासी नेपालीका मुद्दाहरूलाई कसरी उठाउनुहुन्छ ?
म त्यस्तै कुरा बुझ्न पनि खाडी मुलुकको भ्रमण जाँदैछु । त्यहाँ भएका स्थानीय नेपाली दाजुभाई दिदीबहिनीहरूसँग बसेर त्यसको समाधान खोज्ने र राम्रो नराम्रा पक्ष के छन् भनेर बुझ्न जाँदैछु । सम्भावना के छन् त्यहाँ त्यो पनि हेर्नेछु । नेपालको आर्थिक क्रान्तिको लागि यहाँका युवा जनशक्तिलाई नेपाल नै फर्काउनु पर्छ ।
उनीहरूलाई देशमा यस्तो वातावरण सिर्जना गरौँ कि त्यसले उद्योग धन्दा, व्यवसाय र रोजगारी सिर्जना गर्न सकोस । अहिले त बच्चा र वृद्ध मात्र बस्ने जस्तो मुलुक भइसकेको छ । युवाहरूलाई नेपाल ल्याउन र उद्यमशीलतामा लगाउन धेरै कुरा परिवर्तन गर्नुपर्छ । यसका लागि धेरै काम गर्नु पर्दैन । मुख्य गरी तीन ओटा काम गर्नुपर्ने देखिन्छ ।
एउटा डेलिभरी राज्यले दिन सक्नुपर्छ । कुनै सानो सरकारी कार्यालयमा जाँदाखेरी तुरुन्त काम हुन्छ भन्ने विश्वास राज्यले दिलाउन सक्नुपर्छ । सुशासनका विषयलाई गम्भीर ढङ्गले हेर्नुपर्छ । किनभने यो सबैभन्दा महत्त्वपूर्ण विषय हो । नेपालमा सुशासन कायम भयो भने धेरै कुरा सुधार हुन्छ । बिकास र समृद्धिको विषयलाई प्राथमिकताकासाथ अगाडि बढाउनु पर्यो ।