काठमाडौँ/ हामीले बिदेशी लेज, कुरकुरे कति किनेर खान्छौं, सायदै कमै ब्यक्तिहरुले यसबारे सोचेका हुन्छन् । नेपालले चालु आर्थिक वर्ष २०८१ ८२ को जेठ मसान्तसम्म (११ महिनामा) नेपालले ७४ करोड रुपैयाँभन्दा बढी मूल्यको लेज, कुर्कुरे, चिजबलजस्ता खाजाका वस्तु आयात गरेको छ।
यो तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको हो । तथ्यांक अनुसार सो अवधिमा कुल १३ लाख ७६ हजार ४८८ किलो लेज, कुर्कुरे र चिजबल विदेशबाट भित्रिएको छ, जसको आयात मूल्य ७४ करोड ७४ लाख ७९ हजार रुपैयाँ हुन्छ । यति धेरै जंकफुडहरु खाजाको लागि हामीले आयात गरेर खान्छौं ।
त्यो पनि चीन, भारत, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, टर्की, संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका र भियतनाम जस्ता देशहरूबाट आयात गर्दछौं ।
खाद्यजन्य यी खाजाका वस्तुहरू आयात गर्दा सरकारलाई ४६ करोड ६१ लाख ७७ हजार रुपैयाँ राजस्व आएको छ ।
यो तथ्यांकले नेपालमा विदेशी ब्रान्डका प्याकेट खाजा वस्तुहरूको माग उच्च रहेको देखाउँछ। आयातको यो दरले मुलुकको उपभोग बानी, स्वदेशी उत्पादनको अवस्था र विदेशी वस्तुप्रतिको निर्भरता कस्तो छ भन्ने पनि संकेत गर्दछ।
तर, स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू यस्ता तयारी खाजामा उच्च मात्रामा नुन, चिनी र बोसोको मात्रा हुने बताउँछन् । यसको नरन्तर खानाले दीर्घकालीन स्वास्थ्य असर पर्ने कारण नखानको लागि जनचेतना बढाउनुपर्ने बताउँदै आएका छन् ।
यदि उपभोग नै गर्नु परे स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र आयात प्रतिस्थापन गर्न सकिने छ । सरकारले पनि आयात प्रतिस्थापनका लागि नीति तथा कार्यक्रममार्फत हस्तक्षेप गर्नुपर्ने देखिन्छ ।
लेज, कुर्कुरे जस्ता खादा के बेफाइदा हुन्छ ?
लेज, कुर्कुरे, चिजबल जस्ता प्याकेटमा भएका खाजा स्वादिलो र सजिलै उपलब्ध हुन्छ । बाल बच्चा फकाउन वा खाजा खानकै रुपमा प्रयोग गरिरहँदा दीर्घकालीन रूपमा यसले असर देखाउँछ ।
यी खाजाहरू विशेषगरी बालबालिका र किशोर–किशोरीहरूमा अत्यधिक लोकप्रिय देखिन्छ । स्वास्थ्यका दृष्टिले यसले निम्न नोक्सानहरू हुन सक्छ ।
मुटु रोगको खतरा
लेज र कुर्कुरेमा सन्तृप्त बोसो र ट्रान्स फ्याटअत्यधिक हुन्छ, जुन शरीरमा कोलेस्ट्रोल बढाएर मुटु रोगको जोखिम निम्त्याने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
२. मोटोपन
यी खाजामा क्यालोरी उच्च हुन्छ, तर पोषण कम। अत्यधिक सेवनले शरीरमा चिल्लो जम्न थाल्छ, जसले मोटोपन बढाउँछ।
३. किड्नी र लिभरमा असर
यसमा अत्यधिक नुन हुन्छ, जुन रक्तचाप बढाउने र दीर्घकालीन रूपमा किड्नी र लिभरमा दबाव दिने सम्भावना
४. क्यान्सरको जोखिम
कुर्कुरे जस्ता केही खाद्य सामग्रीहरूमा प्रयोग हुने सिंथेटिक फ्लेभर, रंग र संरक्षकले लामो समयको सेवनमा क्यान्सरको खतरा पनि बढाउने अध्ययनहरूले देखाएका छन्।
५. बालबालिकाको मानसिक र शारीरिक विकासमा असर
यस्ता खाजामा पौष्टिक तत्व (प्रोटिन, भिटामिन, फाइबर आदि) नहुँदा बालबालिकाको मस्तिष्क विकास, एकाग्रता शक्ति र शारीरिक तन्दुरुस्तीमा असर
६. एसिडिटी र पाचनसम्बन्धी समस्या
यी खाजामा प्रयोग हुने मसला, चिली पाउडर र कृत्रिम स्वादले पेट पोल्ने, एसिडिटी, ग्यास र कब्जियतको समस्या निम्त्याउन सक्ने देखिन्छ । यसैले यस्ता जंक फुडहरु अत्यन्त कम प्रयोग गर्नेबानी बसाल्नुपर्दछ ।