‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’को फाइनल चरणको निर्णायक प्रक्रिया र पुरस्कार वितरण कार्यक्रम काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । सोमबार सम्पन्न समारोहमा प्रतियोगितामा आइडियल मोडल स्कुल, जाउलाखेलका विद्यार्थी प्रसुन भट्टले उपाधि जितेका छन् ।
देशभरका विभिन्न स्कुलका विद्यार्थीहरूले निर्माण गरेका ९८१ वटा वेबसाइटमध्ये उत्कृष्ट २० छनोट गरिएपछि, त्यसैबाट उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ जनामध्ये प्रसुन भट्टले उत्कृष्ट प्रस्तुति, सफा कोडिङ, युजर फ्रेन्ड्ली डिजाइन र प्राविधिक दक्षताको आधारमा निर्णायकहरूको उच्च मूल्याङ्कन पाउँदै पहिलो स्थान हासिल गरेका हुन्।
दोस्रो स्थानमा आदर्श सौल युवक माध्यमिक विद्यालय, ललितपुरका सुशील खड्का र तेस्रो स्थानमा श्री सुन्दरी माध्यमिक विद्यालय, धादिङका आदेश भण्डारी रहे। विजेताले एक लाख बराबरको ल्यापटप पुरस्कार पाउँदा, दोस्रो स्थान विजेताले नगद ५० हजार बराबरको उपहार र तेस्रो स्थान विजेताले नगद ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन्।