भक्तपुर नगरपालिका वडा नं १ स्थित ऐतिहासिक च्वङा गणेश मन्दिर उक्लने सडकको कालोपत्रे कार्यमा नेपाली सेनाले अवरोध गरेको छ।
सल्लाघारी–नगरकोट सडक खण्डसँग जोडिएको यस फराकिलो सडकमा कालोपत्रे कार्यको क्रममा सेनाले सडकको एक भाग आफ्नो स्वामित्वमा परेको दाबी गर्दै काम रोक्न निर्देशन दिएको हो।
स्थानीय बासिन्दाका अनुसार मन्दिरतर्फ उक्लने सडकको पश्चिमतिरको भाग सेनाको नाममा रहेको भन्दै नजिकैको सैनिक आवासीय महाविद्यालयका अधिकारीहरू आइतबार आएर कालोपत्रे रोक्न निर्देशन दिएका थिए।
यद्यपि, सेनाले वर्षौं अघि नै आफ्नो स्वामित्वको भू–भाग तारबारले घेरिसकेको र त्यसबाहेकको सडक चाहिँ स्थानीय प्रयोगमा खुलेको थियो।
तीन सय मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त सडकको अधिकांश भागमा शनिबार पहिलो चरणको कालोपत्रे सम्पन्न भइसकेको थियो। तर मन्दिर उक्लने चोक नजिकको थोरै भागमा मात्र अवरोध भएको हो।
स्थानीयको भनाइमा, सेनाले अनुमति नदिएमा त्यस खण्डमा एक लेनको सडक पनि नछोडिने र सवारी पास हुनै नसक्ने अवस्था आउनेछ।
“म बच्चा हुँदादेखि नै यो सडक प्रयोग हुँदै आएको हो,” एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा भने, “अब आएर कालोपत्रे गर्न लाग्दा मात्रै समस्या खडा गरिएको छ।”
समस्यापछि स्थानीय र सेनाबीच विवाद उत्पन्न भएको छ। यता, स्थानीयले यसअघि नै सेनासँग छलफल गरेर हस्ताक्षरसमेत बुझाएको भए पनि सहमति नभएको उनीहरूको भनाइ छ।
यस विषयमा भक्तपुर नगरपालिकाको १८औं नगरसभामा पनि छलफल भएको थियो। नगर प्रमुख सुनील प्रजापतिका अनुसार, सडक पर्खाल निर्माणका लागि नगरपालिकाले एक करोडभन्दा बढी बजेट विनियोजन गरिसकेको भए पनि सेनाले निर्माण कार्यमा अवरोध गरिरहेको छ।
त्यस्तै, आइतबारको प्रतिनिधि सभा बैठकमा भक्तपुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेम सुवालले पनि सडक विवादबारे सरकारको ध्यानाकर्षण गराएका छन्।