काठमाडौँ / नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराबाट सुरक्षित राख्न बैंक तथा वित्तीय संस्थाहरूका लागि तयार पारिएको नयाँ साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई आज औपचारिक रूपमा हस्तान्तरण गरियो।
फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (CAN महासंघ) का वरिष्ठ उपाध्यक्ष तथा वन कभर प्रा.लि. का CEO चिरञ्जीवी अधिकारीले परिकल्पना गरेको यो रणनीतिक रोडम्यापले वित्तीय क्षेत्रलाई लक्षित गर्दै व्यापक सुरक्षा उपायहरू समावेश गरेको छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ICT विज्ञ डा. शालिग्राम पराजुली, महासचिव डा. भोजराज घिमिरे, सचिव बन्दना शर्मा, CAN महासंघका महासचिव चन्द्रबिलास भुर्तेल, र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले साइबर सुरक्षा क्षेत्रमा सहकार्य र प्रतिबद्धताको विषयमा छलफल गरे।
इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) का उपाध्यक्ष सुमन शर्माले वित्तीय क्षेत्रका लागि स्थापना हुन लागेको फाइनान्सियल सेक्टर कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (FinCERT) को भूमिका र नेपाल प्रहरी साइबर ब्युरोसँगको समन्वयबारे जानकारी दिए। npCERT का बोर्ड सदस्य रोजिना डाँगीले युवामाझ साइबर सुरक्षा सचेतना अभिवृद्धिमा जोड दिइन्।
यस रोडम्यापले नेपालको राष्ट्रिय साइबर सुरक्षा नीति, विद्युतीय कारोबार ऐन, साइबर सुरक्षा नियमावली, र राष्ट्र बैंकको निर्देशिकासँग मेल खाने गरी वित्तीय संस्थाहरूमा सुदृढ शासन, FinCERT स्थापना, npCERT सँग एकीकरण, रणनीतिक साझेदारी, सक्रिय जोखिम व्यवस्थापन, डिजिटल भुक्तानी सुरक्षा, घटना प्रतिक्रिया, तेस्रो-पक्ष सुरक्षा, क्षमता निर्माण र नवप्रवर्तन प्रवर्द्धन जस्ता प्रमुख स्तम्भहरूलाई समेटेको छ।
नेपाल राष्ट्र बैंकले यस रोडम्याप अन्तर्गत CISO नियुक्ति, IT जोखिम समितिको गठन, FinCERT सुरुवात, SOC स्थापना, वार्षिक प्रशिक्षण, छात्रवृत्ति कोष स्थापना र नियमित अडिटजस्ता कदमहरू चाल्नेछ।
CAN महासंघका महासचिव चन्द्रबिलास भुर्तेलले उक्त रोडम्याप नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षा सुनिश्चित गर्न ऐतिहासिक र दूरदर्शी कदम भएको उल्लेख गर्दै भविष्यमा थप सुरक्षा सुदृढीकरणमा सबै सरोकारवालासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।