काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरीमाथि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको खुलेको छ । उलने आर्जन गरेको करिब ७ करोड रुपैयाँ बढिमा तीन करोड जतिको श्रोत खुलेपनि अन्य रकमको श्रोत खुलाउन सकेनन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
महतो जिल्ला धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ (साबिक नकटाझिज–६) स्थायी बासिन्दा हुन् । हाल काठमाडौँ महानगरपालिका–४, चण्डोल बसोबास गर्दै आएका छन् । आयोगद्वारा सार्वजनिक गरिएको विवरण अनुसार महतोले २०४६ सालदेखि २०७८ सालसम्म सार्वजनिक पदमा कार्यरत रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरेको देखिएको छ । आम्दानीभन्दा धेरै खर्च गरेर अस्वाभाविक जीवनशैली अपनाएको पाइएको छ। श्रीमती तथा विभिन्न आफन्तका नाउँमा सम्पत्ति राखिएको देखिएको अख्तियारले विवरणमा उल्लेख गरेको छ ।
विभिन्न बैङ्क तथा सहकारी संस्थाहरूका खाताबाट प्राप्त विवरण, मालपोत कार्यालयबाट संकलित सम्पत्ति सम्बन्धी कागजात अख्तियारले झिकाएको थियो ।
महतोको अनुसन्धानको क्रममा विभिन्न बीमा कम्पनी, विद्यालय, सरकारी तथा निजी निकायबाट प्राप्त विवरणहरू संकलन गरी विश्लेषण गरिएको जनाएको छ ।
सो क्रममा महतोले ३ करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँ वैध आय देखाएकोमा, त्यसै अवधिमा उनले ७ करोड ९६ लाख ७६ हजार ८ सय ४ रुपैयाँ खर्च तथा लगानी गरेको पाइयो।
सो अनुसार, उनले वैध आम्दानी भन्दा ४ करोड ५८ लाख ९७ हजार ४ सय ३ रुपैयाँ बढी खर्च गरेको र सोको स्रोत पुष्टि गर्न नसकेको पाइएको आयोगको दाबी छ ।
आयोगले महतोमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार बिगो बराबर कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो।
साथै, उनले पेस गरेको सम्पत्ति विवरण झुटो भएको पुष्टि भई ऐनको दफा १६ को उपदफा (२) बमोजिम मुद्दा अघि बढाइएको छ।
यसैबीच, महतोले आर्जन गरेको गैरकानूनी सम्पत्तिबाट श्रीमती माला कुमारी महतोको नाममा विभिन्न सम्पत्ति खरिद गरिएको देखिएकाले ती सम्पत्ति जफत गर्नका लागि उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।