ओखलढुङ्गा / सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई रु. ५ लाख ७० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।
इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी प्रक्रियामा सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई निगरानीमा राखिएको थियो ।
अनुसन्धानका क्रममा उनले पाँचौँ रनिङ बिल स्वीकृत गरिदिने भन्दै २०८१ सालको मंसिर ८ गते रु. १ लाख र छैठौँ बिलको भुक्तानीका लागि २०८२ सालको जेठ १ गते थप रु. ५ लाख ७० हजार गरी जम्मा रु. ६ लाख ७० हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर भएकाले इन्जिनियर यादवविरुद्ध सोही ऐन बमोजिम कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।