काठमाडौँ / परालको भुस बोकेको गाडि मधेश प्रदेशको विभिन्न स्थानमा रोकिदा काठमाडौँका च्याउ उत्पादक किसान र पशुपालक किसान समस्यामा परेका छन् । बागमती प्रदेशमा विशेषगरी मधेशबाट दैनिक ५०/६० ओटा परालको भुस बोकेको ट्रक भित्रिने गरेकोमा स्थानीय प्रहरी प्रशासनले रोकिदिँदा उपत्यकाका किसान तथा व्यवसायी मर्कामा परेका हुन् ।
परालको भुस हलुका हुने भएको कारण १० टनको गाडिमा ल्याउँदा ४ टन मात्रै अट्ने गरेको छ । हलुका हुने भएपछि ट्रकभन्दा माथि दुई फिटसम्म भुसको बोरा राखेर त्रिपालले बाँधेर ल्याउने गरेको देखिन्छ । दुई बर्षअघिसम्म ढाला खोलेर पछाडिसम्म राख्ने गरिएकोमा नम्बर प्लेट नदेखिएको कुरा उठेपछि ढाला बन्द गरेर ल्याइने गरेको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले बताए ।
अहिले भुसा भएको बोरालाई सिलाईसहित बाँधेर राखिने र त्रिपालले छोपेर ल्याउने गरेको भए पनि स्थानीय प्रहरी प्रशासनले हप्ता उठाउने जस्तो व्यवहार गरेर गाडि रोकिदिएको कार्की बताउँछन् ।
“इन्डियाबाट ठूला/अग्ला कन्टेरहरू आइरहेको छ । मधेश प्रदेशमा प्रमुखमा प्रहरी प्रमुख परिवर्तन हुन वित्तिकै व्यवसायीहरूलाई पकडमा ल्याउन र हामीलाई हप्ता दिउन् भन्ने उद्देश्यले चार दिन देखि परालको भुस बोकेको गाडिहरूलाई पथलैयालगायत विभिन्न ठाउँमा ४ सय गाडि रोकिदिएको छ,” उनले भने ।
पथलैयामा मात्रै ढालाभन्दा माथि पराल ल्याउन नदिने भनेर ५०÷६० वटा गाडि रोकिदिएको उनले जानकारी दिए ।
उपत्यकामा भएका पशुपालक किसान सबैभन्दा बढी मारमा परेको अध्यक्ष कार्की बताउँछन् । एउटा बोरा बराबर १५० रुपैयाँभन्दा बढी तिरेर पराल किनेर खुवाउन बाध्य छन् । उपत्यकामा पराल हाहाकार हुँदा तराईमा लोड भएको गाडि आउन नसकेको उनले बताए ।
यसरी ट्रक रोकिदा एउटा गाडिमै २० हजार रुपैयाँ बढीले मूल्य बढ्ने उनको भनाई छ । जुन परालको मूल्यभन्दा बढी हुन आउँछ ।
“माथिको आदेश भनेर ट्रक रोकिराखेका छन् । हामीले कृषि र गृह मन्त्रालयसँग यो समस्या दीर्घकालिन रूपमा नै समाधान गर्नका लागि पहल गरिरहेका छौँ, अध्यक्ष कार्कीले भने ।
च्याउ किसानहरूले च्याउ उत्पादनका लागि कच्चा पदार्थको रूपमा पराल खपत गर्दै आएका छन् । पौष्टिक खानाको रूपमा लोकप्रिय च्याउ उत्पादन बृद्धिमा परालको प्रमुख भूमिका छ । यसले च्याउको उत्पादन बढाउने मात्रै नभई पर्यावरणमा समेत योगदान पुर्याइरहेको छ । तराईका किसानहरू बिक्री नभएपछि परालमा आगो लगाउन बाध्य थिए । तर, पछिल्लो समय च्याउ उत्पादक किसानहरूले परालको खपत बढाएपछि भने परालमा आगो लगाएको कारण हुने प्रदुषणसमेत कम छ । त्यस्तै, किसानहरूले पराल बिक्री गरेर समेत आम्दानी बृद्धि गरिरहेका छन् । यसबाट रोजगारीसमेत बढिरहेको छ ।
तर, विभिन्न बाहानामा समय समयमा प्रहरी, प्रशासनले दुःख दिँदा आफूहरू हत्तोसाही भएको किसानहरू बताउँछन् । अहिले तराईमा पराल राकिएको असर एक महिनापछि देखिने अध्यक्ष कार्कीले बताए । उनले भने “च्याउ फल्न २०/२२ दिन लाग्ने भएकोले तत्काल असर नदेखिए पनि पछि बजारमा च्याउको हाहाकार हुनसक्छ । साथै, उत्पादन घट्न पुग्छ । एउटा फर्ममा आधा अहिले हाल्छु, आधा पछि हाल्छु भन्दा मिल्दैन । आधामा च्याउ फल्न थालेपछि अर्को आधामा रोप्न नमिल्ने भएकोले उत्पादनसमेत घट्ने देखिन्छ र मूल्य पनि आकाशिन्छ ।” परालको अभावमा च्याउ फर्ममा काम गर्नेहरूसमेत प्रभावित भएको उनले बताए ।