काठमाडौँ / देशभरका रैथाने परिकारको माध्यमबाट कृषि पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले भोजनलिपि स्वादको आज तेस्रो संस्करण सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक–कलामा आधारित सो संस्करणका सहभागीले खानाको माध्यमबाट कृषि पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली रैथाने खानाको माध्यमबाट कृषि पर्यटन प्रवर्द्धन गरिनुपर्ने बताए। पोषण र गुणस्तरयुक्त रैथाने खानालाई विश्वव्यापीकरण गर्न सकेको खण्डमा विदेशी पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पर्यटन प्रवर्द्धनका निम्ति पाककलाको महत्व रहेकाले यसलाई देशव्यापी प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु पाहुनाका रुपमा उपस्थित थिए । उपस्थित पाहुनाले खानाका परिकारको स्वाद चाखेका थिए । सेफहरुले खानाका परिकार आकर्षक ढङ्गले प्रस्तुत गरेका थिए । प्रसिद्ध सेफ गोविन्द नरसिंह केसी, अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेललगायतले पाककला पस्किएका थिए ।
नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्याउन अभियान थालिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिए। अभियानले क्रमशः सबै जिल्लाका कृषि उपजलाई समावेश गर्ने लक्ष्य लिएको छ । भोजन लिपि स्वाद देश र विदेशमा गरी १०० भागसम्म आयोजना गर्ने तयारी छ ।
कार्यक्रममा साधना कलाकेन्द्रले सारंगी, बाँसुरी र मादलको धुनसहितको प्रस्तुति गरी बेग्लै रोनकता प्रदान गरेको थियो । केन्द्रका संस्थापक मिलन मोक्तानले अभियानसँग साङ्गीतिक सहकार्य गरी खाना प्रवर्द्धनमा जुटेको बताए ।
यसअघि दुईवटा भोजनलिपि स्वाद संस्करण सम्पन्न भइसकेका छन् । पहिलो र दोस्रो संस्करणमा १५ जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार प्रस्तुत गरिएको थियो ।
हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, बागलुङ, रोल्पा र जुम्लालगायत ३० जिल्लाका कृषि उपजका परिकार प्रस्तुत भइसकेका छन् । नेपाली खानालाई नेपाली संस्कृति र आध्यात्मिक पक्षसँग जोडेर लैजाने उहाँले जानकारी दिए।
किसान र होटल तथा रेस्टुरेन्ट व्यवसायीसँगको समन्वयमा अभियानले काठमाडौँमै देशका विभिन्न क्षेत्रमा उत्पादित ताजा कृषि उपजको स्वाद चाख्न पाइने व्यवस्थापन गर्न लागेको हो । अभियानलाई सातै प्रदेशको राजधानीलगायत मुख्य सहरमा लैजाने तयारी गरेको संयोजक सापकोटाले जानकारी दिए।
नेपाली खानालाई विशेष स्वादसहित पस्कन पाउनु होटल रेष्टुराँ व्यवसायीका लागि पनि सुखद् हुने नेपाल हाउसका प्रमुख रुद्र शर्माले बताए ।