काठमाडौँ / नेपालकै अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपेले ‘फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ, जसले देशभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता, र सामाजिक प्रभावमा सशक्त बनाउने लक्ष्य लिएको छ। यस कार्यक्रमको मूल मान्यता भनेको विद्यार्थीहरू नै नेपालको भविष्यका डिजिटल नेतृत्वकर्ता हुन् भन्ने हो ।
आजको युवालाई सशक्त बनाएर मात्रै भोलिको डिजिटल समावेशी नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वासमा आधारित यो कार्यक्रमले आधुनिक सीप र नेतृत्व क्षमताबाट भरिपूर्ण नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको एक विशेष पाटो हो – 'टाइम टु टीच ब्याक' पहल, जसअन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूसँग जोडिएर डिजिटल वित्तीय उपकरणहरूको प्रयोग सिकाउने प्रोत्साहन दिइन्छ, जसले पुस्ताबीचको डिजिटल दूरी कम गर्न सघाउँछ। यो वर्ष कार्यक्रमप्रति उल्लेखनीय उत्साह देखिएको छ - देशभरबाट १७० भन्दा बढी टिमहरूले आवेदन दिए।
प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिमहरू – १५० विद्यार्थीहरू छनोट गरिएको छ, जो आफ्ना कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै डिजिटल रूपान्तरणको यात्रामा संलग्न हुँदैछन्।
८ हप्ता लामो कार्यक्रम अन्तरगत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, सशक्त सामग्री सिर्जना, र नेतृत्व सीप विकासका चुनौतीहरू सामना गर्नेछन् ।
आधिकारिक फोनपे एम्बेसडरको रूपमा उनीहरूले आफ्ना कलेज र समुदायहरूमा सचेतना अभियान डिजाइन र सञ्चालन गर्दै व्यवहारिक अनुभव लिनेछन् र दीर्घकालीन सामाजिक प्रभाव सिर्जना गर्नेछन्।
फोनपेकी मार्केटिङ प्रमुख, सलिना नकर्मी भन्छिन्, “हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौं । स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई डिजिटल संसारमा सफल हुन आवश्यक उपकरण दिन चाहन्छौँ, अनि तिनले सिकेको ज्ञान आफ्नो पूरानो पुस्तासँग बाँड्न प्रोत्साहन गर्न चाहन्छौँ । यो नेतृत्व निर्माणको अभियान हो, जसले अरूलाई पनि अगाडि बढाउँछ।”
छनोटमा परेका विद्यार्थीहरू देशभरका विविध शैक्षिक संस्थाहरूबाट आएका छन्, जसले नेपालकै शैक्षिक विविधता र राष्ट्रिय पहुँच देखाउँछ।