चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले पहिलोपटक युरोपेली बजारमा अमेरिकी इभि निर्माता कम्पनी टेस्लाभन्दा धेरै इलेक्ट्रिक गाडी बिक्री गरेको छ ।
बजार अनुसन्धान संस्था Jato Dynamics का अनुसार, अप्रिल महिनामा बिवाइडीको बिक्रीमा १६९ प्रतिशतको वृद्धि देखिएको छ, जब कि टेस्लाको बिक्रीमा गिरावट आएको छ ।
टेस्लाभन्दा कति अगाडि छ बिवाइडी ?
युरोपेली ग्राहकहरू चिनियाँ विद्युतीय गाडीहरूमा बढी आकर्षित छन् । यसको प्रमुख कारण भने कम मूल्यमा चाहेजस्तै पाउनु । Jato Dynamics का तथ्याङ्क अनुसार, अप्रिल २०२५ मा बिवाइडीले ७ हजार २३१ वटा इलेक्ट्रिक गाडि बिक्री गरेको छ जबकि टेस्लाले ७ हजार १६५ युनिट मात्रै बिक्री गर्न सक्यो ।
युरोपियन युनियनले स्वदेशी उत्पादनकर्ताहरूको सुरक्षाको लागि गत बर्ष नै आयातित गाडिहरूमा शुल्क लगाएको थियो । जसको बावजुद बिवाइडीको पूर्णतः ब्याट्रिचालित गाडिको बिक्री अघिल्लो बर्षको तुलनामा करिब १७० प्रतिशतले बढ्न पुग्यो । त्यो वृद्धिदर युरोपभर सबै विद्युतीय गाडीहरूको औसत १७ प्रतिशत वृद्धिदरभन्दा धेरै हो ।
इभि बजार समग्रमा २८ प्रतिशतले वृद्धि हुँदा पनि टेस्लाको बिक्रीमा ४९ प्रतिशतले गिरावट देखिएको छ । विश्लेषकहरूका अनुसार, यो स्थिति युरोपेली इभि बजारको लागि ‘ऐतिहासिक मोड’हो ।
तथ्याङ्क अनुसार अप्रिल महिनामा रेनल्ट, स्कोडा, फक्सवागन, बिएमडब्लुलगायतका कम्पनीहरूले पनि टेस्लाले भन्दा राम्रो इलेक्ट्रिक कार बिक्री गरेका छन् । केही वर्ष अघिसम्म युरोपको सबैभन्दा लोकप्रिय विद्युतीय गाडी ब्रान्ड रहेको टेस्लाको बिक्री अप्रिलमा घटेर ११औँ स्थानमा झरेको द न्योर्क टाइम्सले उल्लेख गरेको छ । यस वर्षको पहिलो त्रैमासिकमा टेस्ला दोस्रो स्थानमा थियो भने जर्मनीको फक्सवागन तेस्रो स्थानमा ।
बिवाइडीको प्लग–इन हाइब्रिडको प्रभाव विश्व बजारमा
बिवाइडीको प्लग–इन हाइब्रीड सवारी साधनहरूको बिक्रीलाई गणना गर्दा यो अन्तर झनै फराकिलो देखिन्छ । यस बर्षको अप्रिल महिनामा बिवाइडीले गत वर्षको तुलनामा ३५९ प्रतिशतले बिक्री बढाएको हो । Jatoका विश्लेषक Felipe Munoz ले भने “दुई कम्पनीहरूबीचको मासिक बिक्री अन्तर धेरै ठूलो छैन, तर यसको प्रभाव धेरै गहिरो छ । यो युरोपको इभि बजारको लागि ऐतिहासिक घडी हो ।”
चीनबाहिर पनि कमजोर टेस्ला, बलियो बिवाइडी
युरोप मात्र नभएर, चीनमा पनि टेस्लाको बिक्री अप्रिलमा वार्षिक आधारमा ६५ घटेको छ । यो लगातार सातौँ महिना हो जुन टेस्लाले बिक्री दरमा गिरावट झेलिरहेको छ ।
उता बिवाइडीले अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाउँदै म्यउिजष्ल क्गचा नामक सस्तो Seagllu EV को युरोपेली संस्करण सार्वजनिक गरेको छ । २०२४ मा बिवाइडीले ४ लाख १७ हजार २०० युनिट सवारी साधन अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
बिवाइडीका कार क्यारियरहरू (गाडीहरू जस्तै : कार, भ्यान, एसयुभी आदि) एक स्थानबाट अर्को स्थानमा लाने विशेष ट्रक)ले २०२५ को पहिलो त्रैमासिकमा २५ हजारभन्दा बढी नवीकरणीय उर्जामा आधारित (EVs) नयाँ गाडिहरू निर्यात गरिसकेको जनाएको छ ।
हालसम्म बिवाइडीका यस्ता सवारी साधनहरू १०० भन्दा बढी देश र क्षेत्रका ४०० भन्दा धेरै शहरमा पुगिसकेका छन् ।
टेस्लाले सन् २०१४ मा नर्वेमा गाडी बिक्री सुरु गरेको थियो भने २०२२ मा बर्लिन बाहिर कारखाना निर्माण गरेर उत्पादन सुरु गर्यो । सोही वर्ष बिवाइडीले पनि नर्वे र नेदरल्याण्डमा बिक्री सुरु गर्यो ।
बिवाइडी अहिले हंगेरीमा कारखाना बनाइरहेको छ र टर्कीमा पनि कारखाना बनाउँदैछ, जहाँबाट युरोपेली युनियनमा शुल्कबिना गाडी निर्यात गर्न सकिन्छ ।
यसै हप्ता, बिवाइडीले आफ्नो युरोप मुख्यालय हंगेरीमा स्थापना गर्ने घोषणा गर्यो, जसले अनुसन्धान र विकाससमेत गरी २ हजार रोजगारी सिर्जना गर्ने बताइएको छ ।
पछिल्लो एक वर्षमा बिवाइडी युरोपभर तीव्र गतिमा विस्तार भएको छ । यस आधारमा बिवाइडीले केही ठूला युरोपेली देशहरूमा Fiat, Dacia, Seat जस्ता स्थानीय ब्रान्डहरूलाई समेत उछिनेको देखिन्छ ।
एलन मस्कले गत वर्ष राष्ट्रपति अमेरिकी डोनाल्ड ट्रम्पलाई सहयोग गर्न लाखौँ डलर खर्च गर्न थालेदेखि नै टेस्लाको युरोपेली बजारमा बिक्री सुस्ताएको थियो ।
भविष्यको तयारीमा पनि टेस्लाभन्दा अगाडि बिवाइडी
एक स्वीस बिजनेस स्कूलले प्रकाशित गरेको रिपोर्टअनुसार, बिवाइडीले टेस्लालाई 'future readiness rankings’ मा पनि पछि पारेको छ ।
यस सूचकाङ्कले कम्पनीले बाह्य परिवर्तनहरूलाई कसरी बुझ्छ र अनुकूलन गर्छ भन्ने मापन गर्छ । समाचार एजेन्सी सिह्वाले भनेको छ, “चिनियाँ कम्पनीहरूको स्थानीयकरणको प्रयासहरूले गर्दा पश्चिमी उपभोक्ताहरूले अब तिनीहरूलाई केवल ‘चिनियाँ प्रविधियुक्त ब्रान्ड’ मात्र होइन, वैश्विक अनुकूलन गर्न सक्ने बहुर्राष्ट्रिय कम्पनीको रूपमा हेर्न थालेका छन् ।”
नेपालमा बिवाइडी
नेपाली बजारमा पनि बिवाइडीको दबदबा कायमै छ । बिवाइडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नेपालमा बिक्री हुने सबै बिवाइडी इलेक्ट्रिक भेहिकलमा विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । इभिको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्नेछ ।
नेपाली बजारमा यो कम्पनीको गाडि ६ हजारभन्दा बढी खपत भइसकेको छ । अब कम्पनीले एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो ।
सो वारेन्टीअन्तर्गत ब्याट्री वारेन्टीमा पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ । यो इभि उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो । यसैगरी मोटर वारेन्टीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ ।
होल भेइकल वारेन्टीमा लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्याइएको छ ।
जनरल भेइकल पाट्र्स वारेन्टीमा अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पाट्र्स वाहेकका सबै भेइकल पाट्र्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्याइएको छ ।
यो एक्सटेन्डेड वारेन्टी नीतिले बिवाइडीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियताप्रतिको बलियो विश्वासलाई झल्काउने कम्पनीले जनाएको छ । बिवाइडीले ल्याएको यो नीतिले भविष्यमा नेपाली बजारमा बिवाइडीको खपतलाई अझ बृद्धि गर्ने प्रष्ट हुन्छ ।
*यो स्टोरी विभिन्न मिडिया एजेन्सीको सहयोगमा तयार गरिएको हो ।