समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला, आम्दानी बढ्दा उत्साहित

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला, आम्दानी बढ्दा उत्साहित

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • images
    images
    समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला, आम्दानी बढ्दा उत्साहित
    images
    images

    दाङ / घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् । 

    उनले भनिन्, “नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र  प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।” 

    सोही कार्यालयले २० जनालार्इ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन् । 

    “समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा केके कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उनले भने ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् । 

    जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताए । 

    उनले भनिन्,“सामूहिक काम गर्दा  छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”  

    घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो। 

    मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उनले बताइन्। अहिले उनीसँग १० घार मौरी छन् । 

    उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियो । रु ५०० देखि रु ६०० प्रतिकिलोमा बिक्री गरेको उनले बताइन् । 

    गाईवस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनले बताइन् । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।   

    तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुन्। उनी प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेकी छन् । 

    समूहमा आबद्ध भएपछि उनले च्याउखेतीको तालिम लिइन् । उनले समूहमा आबद्ध भएपछि रु ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरिन् । 

    चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताइन् । 

    समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताइन् । उनीहरुको ३० जनाको समूह छ । उनका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।   

    घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताइन् । “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उनले भनिन् ।

    पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उनले आग्रह गरे । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरिन् । 

    मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत  प्रत्यक्ष  ४६५ जनालाई सहयोग गरेको बताए । 

    उनका अनुसार दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । 

    लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको उनले बताए । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com