काठमाडौँ / चालु आर्थिक बर्षको फागुन मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति ३१० अर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार मुलकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गर्दै शोधनान्तर स्थिति कम ३१० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
गत बर्ष फागुन मसान्तसम्म शोधनान्तर स्थिति ३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता १८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड रुपैयाँ थियो ।
यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब ६३ करोड भित्रिएको थियो ।