काठमाडौँ / चालु आर्थिक बर्षको आठ महिना (साउन–फागुन)मा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आठ महिनामा रेमिट्यान्स ९.४ प्रतिशतले बढी हो । गत बर्ष फागुन मसान्तसम्म रेमिट्यान्स १८.३ प्रतिशतले बृद्धि भएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
फागुन मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ थियो ।