समय एकनास रहँदैन ।
एलन मस्कको लागि पनि भयो त्यहीँ । उनले आफूले मजाक उडाएको कम्पनीले कुनै समय आफूलाई नै चुनौति दिन सक्छ भन्ने कल्पना पनि गरेका थिएनन् होला ।
उनले बिवाइडीको उत्पादन, आकर्षण र प्रविधिको मजाक बनाउदै टेस्लाको प्रतिस्पर्धी बन्न नसक्ने बताएका थिए । तर, बिवाइडीले तीव्र प्रगति गर्दै उनलाई गलत सावित गरिदियो । चीन र एसियाली बजारमा बिवाइडीले टेस्लालाई पछाडि पारिरहेको छ ।
प्रविधि र बजार रणनीतिका कारण ब्याट्री बनाउने एक चिनियाँ कम्पनी अहिले विश्वकै छैटौँ ठूलो अटो कम्पनी बन्न सफल भएको छ ।
बिवाइडीको ब्याट्रीदेखि अटोमोबाइलसम्मको यात्रा
बिवाइडी अर्थात ‘…Build Your Dreams' यो कम्पनीको सुरुवात सन् १९९५ मा एक केमिस्ट वाङ चुआनफुले गरेका थिए ।
त्यसबेला उनको नजर अटो उद्योगमा थिएन, बरु जापानी कम्पनीहरूको ब्याट्री बजारमा थियो । वाङलाई लाग्यो कि चीनमा पनि रिचार्जेबल ब्याट्री बनाउन सकिन्छ र उनले ३.५ लाख डलर ऋण लिएर बिवाइडीको जग बसाले । सुरुमा कम्पनीले मोबाइल फोन र पावर टुल्सका लागि ब्याट्री बनाउँथ्यो ।
मोटोरोलाबाट पहिलो सफलता
सन् २००० मा बिवाइडीले पहिलो ठूलो सफलता पायो जब उसले अमेरिकी मोबाइल कम्पनी मोटोरोलालाई ब्याट्रीहरू आपूर्ति गर्न थाल्यो । जसमा स्टेला लीले महत्त्वपूर्ण भूमिका खेलिन् ।
भाषाको समस्याको बावजुद पनि उनले मोटोरोलाका अधिकारीहरूलाई बिवाइडीको ब्याट्री बेच्न महिनौँसम्म प्रयास गरिन् । अन्ततः, मोटोरोलाले कम मूल्यका कारण बिवाइडीका ब्याट्रीहरू परीक्षण गर्यो र कम्पनीको वृद्धिले गति लिन थाल्यो ।
अटो उद्योगमा प्रवेश
सन् २००३ मा वाङले अटो कम्पनी किनेर एउटा ठूलो जोखिम उठाए । एक असफल भइसकेको सरकारी कार कम्पनी Xi'an Qinchuan अटो कम्पनी किनेर उनले बिवाइडीलाई अटो उद्योगमा प्रवेश गराए ।
रमाइलो कुरा यो थियो कि वाङ आफैँ कार चलाउन पनि जान्दैनथे । सन् २००५ मा बिवाइडीले आफ्नो पहिलो पेट्रोल कार एफथ्री लन्च गर्यो । सन् २००८ मा भने बिवाइडीले इभि कारको दुनियाँमा कदम राख्यो र पछाडि फर्केर हेर्नु परेन । कम्पनीले ल्याएको पहिलो हाइब्रिड मोडल एफथ्री डिएमको इन्ट्रीसँगै बिवाइडीको दबदवा अटो इन्डष्ट्रिमा बढ्दै गएको हो ।
वारेन बफेटको लगानी र विश्वव्यापी पहिचान
सन् २००८ मा वारेन बफेटको कम्पनी बर्कसायर ह्याथवेले २३० मिलियन डलर लगानी गर्यो । त्यसपछि बिवाइडीले विश्वव्यापी पहिचान प्राप्त गर्न सफल भयो । हाल यो कम्पनीले पूर्ण रूपमा इभि र हाइब्रिड गाडिहरूमा केन्द्रित उत्पादन गरिरहेको छ भने करिब ९५ देशहरूमा आफ्नो सवारी साधन बिक्री गरिरहेको छ ।
बिवाइडीको सफलताका चार प्रमुख कारण
१. चिनियाँ सरकारको सहयोग
बिवाइडीको सफलता केवल नवप्रवर्तनको कारणले मात्र नभई चिनियाँ सरकारको सहयोग पनि हो । सन् २००९ देखि चीनले इभि सब्सिडी र सरकारी समर्थन दिन सुरु गर्यो ।
सन् २०१५ देखि २०२० सम्म बिवाइडीले ४.३ बिलियनको सरकारी मद्दत पायो ।
सरकारले कम ब्याजदरमा ऋण र इक्विटी फन्डिङ उपलब्ध गरायो जसले गर्दा कम्पनीले तीव्र गतिमा उत्पादन र आर एण्ड डिमा पैसा लगानी गर्न सक्यो ।
Rhodium Group का ग्रेगर सेबास्टियनका अनुसार बिवाइडीले ‘बजार भन्दा कम दरमा फन्डिङ’ पाइरह्यो जसले गर्दा कम्पनीले ठूलो मात्रामा उत्पादन र अनुसन्धानलाई बढायो ।
२. गेमचेन्जर ब्लेड ब्याट्री
सन् २०२० मा बिवाइडीले ब्लेड ब्याट्री लन्च गर्यो । जुन यसको सबैभन्दा ठूलो नवप्रवर्तन साबित भयो । यो एक लिथियम आइरन फस्फेट (एलएफपि) ब्याट्री थियो, जसलाई पहिले इभि उद्योगले कम ऊर्जा घनत्वको कारण अस्वीकार गरिएको थियो ।
तर, बिवाइडीले यसमा प्राविधिक सुधारहरू गर्यो । जसले गर्दा यसले धेरै ऊर्जा भण्डारण गर्न थाल्यो र धेरै सुरक्षित पनि भयो । आज यो ब्याट्री टोयोटा लगायत धेरै कम्पनीहरूले प्रयोग गरिरहेका छन् ।
३. कोभिडको समयमा मास्क उत्पादनबाट ठूलो मुनाफा
जब २०२० मा कोरोना महामारी फैलियो, तब बिवाइडीले आफ्ना कारखानाहरूमा एन९५ मास्क बनाउन सुरु गर्यो ।
यो कम्पनी विश्वको सबैभन्दा ठूलो मास्क निर्माता बन्यो र सफ्टबैंक, क्यालिफोर्निया सरकार जस्ता ठूला ग्राहकहरूबाट ४१ बिलियन डलरभन्दा बढी कमायो ।
यसको कारणले गर्दा बिवाइडीका कामदारहरूलाई कारखानामै रोक्न सजिलो भयो र कार उत्पादन रोकिएन, जबकि अन्य अटो कम्पनीहरूले ठूलो नोक्सानी बेहोर्नुपर्यो । साथै, बिवाइडीले आफ्नै सेमिकन्डक्टर युनिटबाट चिप आपूर्ति जारी राख्यो, जबकि बाँकी कम्पनीहरू चिप अभावसँग जुधिरहेका थिए ।
४. बजार रणनीति
टेस्ला लगायत अन्य इभि कम्पनीहरूलाई टक्कर दिन बिवाइडीले विभिन्न बजारहरूमा आफ्नी रणनीति परिवर्तन गर्यो । दक्षिणपूर्व एशियामा बिवाइडीको इभि बजारमा ४३ प्रतिशत हिस्सा छ । कम्पनी कुनै पनि नयाँ देशमा प्रवेश गर्नुअघि त्यहाँको आवश्यकताहरू बुझ्छ र त्यसै अनुसार सवारी साधन बेच्छ ।
उदाहरणका लागि लन्डनमा बिवाइडीले पहिले इलेक्ट्रिक बसहरू बेच्यो, त्यसपछि कारहरूलाई प्रमोट गर्यो । जकार्तामा पनि पहिले बसहरू उतार्यो, त्यसपछि व्यक्तिगत कार बजारमा प्रवेश गर्यो ।
बिवाइडीका अगाडिका चुनौतीहरू
१. अमेरिका र युरोपको नीतिगत बाधाहरू
अमेरिकाले बिवाइडीमा १०० प्रतिशत आयात कर लगाएको छ । युरोपियन युनियनले १७ प्रतिशत ट्यारिफ बढाएको छ । यसले बिवाइडीलाई यी देशहरूमा विस्तार गर्न गाह्रो हुन सक्छ ।
बिवाइडीको वृद्धि शानदार रहेको छ ।
२०२४ मा यसको कुल राजस्व १०७ बिलियन डलर थियो, जुन टेस्लाको ९७.७ बिलियन भन्दा बढी हो । यसले ४.३ मिलियन इभि र हाइब्रिड कारहरू बेच्यो, जसले गर्दा यो होन्डालाई पछाडि पार्दै विश्वको छैटौँ ठूलो अटो कम्पनी बन्यो ।
यद्यपि, अब यसको सबैभन्दा ठूलो चुनौती अमेरिका र युरोपको ट्यारिफ हो । बिवाइडीले यी चुनौतीहरूलाई पार गरेर विश्वको सबैभन्दा ठूलो अटो कम्पनी बन्न सक्ला ? यसको जवाफ आउने वर्षहरूमा मिल्नेछ !
एजेन्सीको सहयोगमा