images
Logo
images

किसानको आलु कम्पनीले सिधै खरिद गर्ने, बीउ खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने

किसानको आलु कम्पनीले सिधै खरिद गर्ने, बीउ खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • किसानको आलु कम्पनीले सिधै खरिद गर्ने, बीउ खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने

    वालिङ (स्याङ्जा) / स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । 

    images
    images

    आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।

    स्याङ्जामा पहिलोपटक यो कार्यक्रम लागू भएकाले अहिले किसान खेतमा आलु लगाउन ब्यस्त छन् । “यसपटक जिल्लाका विभिन्न आठ पालिकाका २८ समूह सहकारीमार्फत एक हजार सात सय रोपनी क्षेत्रफलमा आलु लगाउँदै हुनुहुन्छ”, उनले भने, “ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रमाणित भएका खुमल उज्जल, खुमल विकास, जनकदेव जातको आलु लगाउने काम भइरहेको छ ।”

    छनोट भएका २८ समूह सहकारीलाई कार्यालयले बीउ खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने उनले बताए । यन्त्र उपकरण खरिदका ५० देखि ७५ प्रतिशत तथा सङ्कलन केन्द्र, प्रशोधन कक्ष, सिँचाइलगायतका पूर्वाधार निर्माणका लागि ८५ प्रतिशतसम्म किसानले अनुदान पाउने छन् । 

    “समूह सहकारीमार्फत उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्ने सम्झौता भएको छ”, उनले भने, “यहाँ उत्पादन भएको आलुको सहज बजारीकरण हुने भएको छ ।”

    किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी रु दुई प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने उनले बताए । आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले बताए ।

    आलु लगाउनुपूर्व नै बजारको सुनिश्चितता भएपछि अहिले समूह सहकारीहरू आलुखेतीको विस्तारमा लागेको उनले बताए । “गण्डकी प्रदेश सरकारले अगाडि सारेको यो कार्यक्रमले उत्पादन, प्रशोधन र बजारलाई जोड्ने मुख्य उद्देश्य रहेको छ”, उनले भने, “आगामी वर्षमा यसले थप व्यावसायिक उत्पादन र क्षेत्र विस्तारमा सहयोग पुग्ने देखिन्छ ।”

    खुमल उज्जल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनियामा रहेको फस्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौता भएको कम्पनीका आलु बाली विशेषज्ञ श्याम ढकालले बताए । 

    यस वर्ष कम्पनीले आलुबाट फ्रेन्च फ्राइ, चिप्स उत्पादन गर्ने तयारी गरिरहेको र त्यसका लागि खुमल जातका आलु उपयुक्त हुने उहाँले बताए । “अर्को वर्ष आलुका नयाँ–नयाँ परिकार बनाउने तयारी गरिरहेका छौँ” उनले भने । 

    स्याङ्जाका ११ पालिकामध्ये आठ पालिकाका २८ समूह सहकारी यस अभियानमा जोडिएका छन् । आलु उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिएको भिरकोट नगरपालिका–५ को पकानमा रहेको पकान आइपिएम कृषक समूहमा आबद्ध ३२ जनालाई अहिले सम्झौतानुसार आलु लगाउन भ्याइनभ्याई छ । 

    सम्झौता भई कार्यक्रम लागू भएका स्थानमा अहिले किसान खेतमै व्यस्त देखिन्छन् । बजारको सुनिश्चितता पहिले नै भएकाले अहिले किसान आलु लगाउन निकै उत्साहित र सक्रिय भई लागेका समूहका अध्यक्ष शिवप्रकाश अर्यालले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय