कोरियाली लगानीकर्तालाई नेपालमा थप पुँजी परिचालन गर्न आग्रह

कोरियाली लगानीकर्तालाई नेपालमा थप पुँजी परिचालन गर्न आग्रह

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • कोरियाली लगानीकर्तालाई नेपालमा थप पुँजी परिचालन गर्न आग्रह

    काठमाडौँ / लगानी बोर्ड नेपालको कार्यालय र नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको सहकार्यमा काठमाडौँमा नेपाल-कोरिया लगानी कार्यशाला आयोजना गरिएको छ । 

    images
    images

    कोरिया इन्टरनेसनल ट्रेड एसोसिएसनका कार्यकारी उपाध्यक्ष मार्न-कि जेओङ्को नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलको सहभागितामा उक्त सेमिनार आयोजना गरिएको थियो । 

    प्रतिनिधिमण्डलमा कोरियन इनर्जी हेडक्वार्टर्स, कोरिया एपरल टेस्टिङ्ग एन्ड रिसर्च इन्स्टिच्यूट, कोरिया अप्टिकल इन्डस्ट्रि एजेन्सी र कोरिया एक्जिम बैंकको प्रतिनिधित्व  थियो । 

    सेमिनारलाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै दक्षिण कोरिया सरकारका व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका मन्त्री, डुक्जेन अहनले नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षमा प्रवेश गर्न लागेको सन्दर्भमा  दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई प्रगाढ बनाउन द्विपक्षीय व्यापार तथा लगानी विस्तार अपरिहार्य भएको उल्लेख गरे । 

     नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताय-योङ्गले नेपालमा दक्षिण कोरियालीकम्पनीहरूको लगानी विस्तार भइरहेको चर्चा गर्दै नेपाल दक्षिण कोरियाबाट धेरै वैदेशिक लगानी प्राप्त गर्ने देशहरूमा पाँच राष्ट्रको सूचीमा पहिलो स्थानमा रहेको बताए । 

    कार्यशालामा उपस्थित दक्षिण कोरियाली प्रतिनिमिण्डल, सरकारी अधिकारीहरू तथा निजी क्षेत्रका प्रतिनिधि तथा नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीका प्रतिनिधिलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले कोरियाली इलेक्ट्रोनिक्स कम्पनीहरूले नेपालमै ‘एसेम्ब्ली लाइन’ विस्तार गर्नु प्रशंशनीय रहेको उल्लेख गरे । 

    लगानी बोर्डले सहजीकरण गरिरहेको २१६ मेगावाटको अपर त्रिशुली-१ जलविद्युत परियोजनालाई तीव्र गतिमा अघि बढाउन आवश्यक समन्वय गरिरहेको  उनले बताए । 

     लगानी बोर्ड नेपालको कार्यालय, सामसङको नेपालस्थित कार्यालय, माथिल्लो त्रिशुली-१ को विकासकर्ता एनडब्लुइडीसी तथा कोरिया एक्जिम बैंकका तर्फबाट इकोनोमिक डेभलपमेन्ट कोअपरेसन फन्ड (इडीसीएफ)का सम्बन्धमा जानकारी दिइएको थियो । 

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीहरूको अनुभव उत्साहजनक रहेको बताउँदै जलविद्युत्, पर्यटन, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा कोरियाली लगानीका लागि राम्रो प्रतिफल प्राप्त गर्ने  सम्भावना रहेको बताए ।

    कोरिया इन्टरनेशनल ट्रेड एसोसिएसनका कार्यकारी उपाध्यक्ष मार्न-कि जेओङले नेपालमा लगानीका सम्भावना पहिचान गर्न र लगानी परियोजनाबारे छलफल गर्न दक्षिण कोरियाली प्रतिनिधिमण्डलको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय