प्रचार नपाएको बागलुङको नौ बहिनी झरना, कसरी पुग्न सकिन्छ ?

प्रचार नपाएको बागलुङको नौ बहिनी झरना, कसरी पुग्न सकिन्छ ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • प्रचार नपाएको बागलुङको नौ बहिनी झरना, कसरी पुग्न सकिन्छ ?

    ढोरपाटन (बागलुङ) / बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँको शिरमा छ नौ बहिनी झरना। एउटै पहाडको खोँचमा नौ स्थानमा रहेका झरना पर्यटकी हिसाबले निकै सम्भावना बोकेका छन्। मोराखोलामा कलकल पानी झर्दै बनेका आकर्षक झरनाको प्रचारप्रसार नहुँदा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन्।

    images
    images

    एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम नौ बहिनी झरना राखेका हुन्। शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना। झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ।

    मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइली र कान्छी भन्ने गरिएको छ। झरना जङ्गलको बीचमा रहेको हुँदा स्थानीयले घाँस दाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए। वर्षौं अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन।

    झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन्। गोठमा वर्षात्को समय सयौँ गाईभैँसी र भेडाबाख्रा बाँध्ने गरिन्छ। चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोजस्थलका रूपमा पनि निकै उत्कृष्ट मानिन्छ। गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन्। यो झरना पैदलयात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ।

    ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रसार गर्न थालेको छ। यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ। 

    पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ। निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले झरनालाई प्रवद्र्धन गर्नका लागि पालिकाले योजना बनाएको बताए। भौगोलिक विकटताका कारण अहिलेसम्म कुनै पनि संरचना निर्माण गर्न नसकिएको उनको भनाइ छ।

    उनले भने, “एकै ठाउँमा यति धेरै झरना त विरलै होलान्, यी झरना पर्यटकीय हिसाबले निकै मनमोहक छन्, अहिलेसम्म झरना ओझेलमा परेका छन्, अब मुख्य सडकदेखि नै पदमार्ग बनाउने, प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउने योजना बनाएका छौँ, आगामी वर्षको बजेटमा यसलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ।

    झरना समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा छन्। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भल्कोट गाउँदेखि यहाँसम्म पुग्न करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्छ। यतिबेला झरना निकै मनमोहक देखिने स्थानीय बताउँछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय