काठमाडौँ / यस वर्षको नाडा अटो शो २०२५ को तीन दिनमै ७८ हजार ५१३ जनाले अवलोकन गरेका छन् । जसलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई नयाँ सुरुवातको रूपमा लिने बताएका छन् । साथै उनले, नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थन स्पष्ट भएको उल्लेख गरे ।
अध्यक्ष चौधरीका अनुसार, यस सफलताले नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउने आत्मविश्वास थप मजबुत बनाएको छ।
नाडाले यस ऐतिहासिक सफलतामा योगदान पुर्याएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
नाडा अटो शो अब केवल प्रदर्शनी नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवको रूपमा स्थापित भइरहेको उनले बताए ।