काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन गुणा अर्थात् २२१ प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
जसअनुसार डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता कायम राखेको छ। गत बर्ष असार मसान्तसम्म वितरणयोग्य मुनाफा ५८ अर्ब रुपैयाँ मात्रै थियो ।
चौथो त्रैमाससम्म बैंकको समग्र मुनाफा १०.२४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भने सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले कम जोखिमयुक्त कर्जामा प्राथमिकता दिएर लगानी पोर्टफोलियो सुधार गरेको छ । जसले गर्दा खराब कर्जा २.६२ प्रतिशतमा सीमित भएको देखिन्छ ।
आम्दानी र निक्षेप दुबै बढ्यो
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । बैंकले यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले बृद्धि गरेको हो ।
त्यस्तै, सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले वृद्धि भई १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। यसरी कुल सञ्चालन आम्दानीमा ११.८२ प्रतिशत वृद्धि हुँदै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ । समीक्षा अवधिमा निक्षेप सङ्कलन १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेप र कर्जामा वार्षिक रूपमा क्रमशः ३८ अर्ब ९९ करोड र १९ अर्ब ७ करोड रुपैयाँको वृद्धि भएको छ।
चौथो त्रैमाससम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । थोरै पूँजीकोषका बाबजुद पनि बैंकको व्यवसायमा सन्तुलित बृद्धि भएको देखिन्छ ।
प्रमुख वित्तीय सूचकहरू सुदृढ
गत असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २४ रुपैयाँ १० पैसा पुगेको छ । यसले वितरणयोग्य मुनाफाबाट प्रतिसेयर लाभांश १३ रुपैयाँ २२ पैसा वितरण गर्न सकिने आधार तयार भएको छ।
प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २३ रुपैयाँ ६१ पैसा बढी हो। दोस्रो बजारमा सेयर मूल्य र प्रतिशेयर आम्दानीको विचरण अनुपात (पीई रेसियो) १५.९३ रहेको छ ।
बैंकको पूँजीकोष अनुपात ११.७७ प्रतिशत कायम छ भने कर्जा–निक्षेप अनुपात ७६.९२ प्रतिशतमा सुधारिएको छ। आधार ब्याजदर घटेर ६.४२ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ३.९८ प्रतिशत कायम छ ।
आर्थिक शिथिलता र ऋणीहरूको कर्जा भुक्तानी क्षमतामा देखिएको कमजोरीका कारण बैंकको खराब कर्जा सामान्य बृद्धि भएको छ ।
यद्यपि, वितरणयोग्य मुनाफा तीन गुणाले बढ्नु र बैंकका सबै प्रमुख वित्तीय सूचकहरूमा सुधार हुनु भने बैंकको रणनीतिक सफलताको सङ्केत हो।
चालु आर्थिक वर्षमा बैंकका केही ऋणपत्र परिपक्व हुँदैछन् जसले बैंकको वित्तीय अवस्थामा ठुलो सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। वित्तीय व्यवस्थापन र जोखिम न्यूनिकरणमा सुधार देखिएसँगै बैंकले दीर्घकालीन रूपमा बैंकको मजबुत र दिगो वृद्धि सुनिश्चित गर्नेछ।
दिगो विकासका लागि डिजिटल प्रथम बैंक बन्ने लक्ष्यका साथ सन् २००२ मा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो अधिकांश सेवामा डिजिटल बैंकिङ प्रणाली अपनाएको छ।
अनलाइन बैंकिङ र सिद्धार्थ बैंक स्मार्ट एपमार्फत ग्राहकहरू संसारका कुनै पनि ठाउँबाट बैंकका सेवा सहज रूपमा प्रयोग गर्न सकिन्छ । नेपालका सबैभन्दा विश्वासिलो वाणिज्य बैंकहरू मध्ये एक सिद्धार्थ बैंकले अत्याधुनिक डिजिटल बैंकिङ प्लेटफर्म इजी बैंकसमेत रहेको छ । यसले ग्राहकलाई बैंकको अधिकांश सेवा मोबाइल र वेबसाइटमार्फत घरमै बसेर लिन सकिने सुविधा प्रदान गर्दछ ।