काठमाडौँ / नेपाल भ्रमणमा रहेका रोजगारदाताहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आइओई)का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रशंसा गरेका छन् ।
बिहीबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पदाधिकारीसँगको भेटमा उनले उक्त धारणा राखेका हुन् । महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आउनु भएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताए ।
साथै उनले सरकार र ट्रेड यूनियनहरूको रचनात्मक भूमिका रहेको जानकारी दिए । तीन दिने नेपाल भ्रमणमा रहनु हुने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनेछन् ।
यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
महासंघमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नति र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजीकरणका विषयमा चर्चा गरेका थिए ।
साथै उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लगायतका आइओइका सहयोग आवश्यक रहेको बताए ।
“नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती हुँदा हामीसँग अवसर र चुनौती दुबै छन् । यसबाट अगाडि बढ्न आइओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओइको सहयोगको अपेक्षा गर्दछौँ” अध्यक्ष ढकालले भने ।
नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक संगठनबिच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासंघले सधैँ उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताए ।
सो अवसरमा उनले स्तरोन्नतिपछिको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक सहजीकरणका लागि आइओई सधैँ सकारात्मक रहेको बताए । साथै, उनले नयाँ अवसरहरूमा नेपालका उद्यमीहरूलाई जोड्न पनि सहजीकरण गर्ने जानकारी दिए ।
सो अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका उपाध्यक्ष तथा रोजगादाता परिषदका सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासंघका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राजभण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिकबिच असल सम्बनध निर्मार्ण तथा औद्योगिक वातावरणका बिषयमा आआफ्नो धारणा राखेका थिए ।
१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरूको संगठन (आइओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरूको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।