काठमाडौँ / सामाजिक सुरक्षा कोषले रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम सङ्कलनमा उल्लेख्य वृद्धि भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक सुरक्षा कोषले आ.व. २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण सङ्ख्या २०,९५१ पुगेको छ भने कुल योगदानकर्ता श्रमिकको सङ्ख्या यस आ.व. २०८१/८२ मा थप ८,८२,९४६ ले वृद्धि भई कुल २३,७४,४८६ पुगेको जानकारी दिएको हो ।
जसमध्ये औपचारिकतर्फ ६,०१,८२५ वैदेशिक क्षेत्र तर्फ १७,७१,५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक ११२४ सङ्ख्या रहेको छ । आ.व. २०८१/८२ मा थप रु. २५ अर्ब ३६ करोड योगदान रकम सङ्कलनसहित कूल योगदान रकम संकलन रु. ८३ अर्ब ६५ करोड पुगेको छ ।
यस्तै, सामाजिक सुरक्षा कोषमा आवद्ध भई नियमित योगदान गरेका योगदानकर्ताहरूलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाहरूको उपयोग गरे बापत भुक्तानी पनि गर्दै आइरहेको छ ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत १,१०,६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजना ५,९३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी भएको कोषले जानकारी गराएको छ ।
साथै, आ.व. २०८१/८२ मा थप ३ लाख ६२ हजार वटा दाबी भुक्तानी मार्फत रु. ५ अर्ब ८७ करोड रकम सहित कुल ७ लाख ५६ हजार वटा दाबी भुक्तानीमार्फत हालसम्म कुल रु. १५ अर्ब ७५ करोड रकम भुक्तानी गरिएको छ ।
योगदानकर्ता सापटीअन्तरगत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्व ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटी १० योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्ब ४ करोड भुक्तानी भएको छ ।
कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यसै आ.व. २०८१/८२ मा थप २४ वटासहित कूल १०७ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान भई सेवा प्रवाह भइरहेको छ ।
वैदेशिक रोजगारी/स्वरोजगारीमा रहेका व्यक्तिहरूको कोषमा योगदान रकम सङ्कलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासँग आवश्यक सहकार्यको लागि सम्झौता गरिएको छ ।
औपचारिक क्षेत्रका श्रमिकहरूको लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार भई यसै आर्थिक बर्षमा कार्यान्वयनमा आईसकेको छ ।
आज भन्दा ५ वर्ष अगाडी योगदानकर्तामा मात्र सीमित रहेको स्वास्थ्य उपचार सेवा आज योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको र औषधी उपचारको १ लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने भएमा १० लाखसम्मको उपचार खर्च ५० प्रतिशत सहभुक्तानी सुविधा समेत कोषले उपलब्ध गराउने गरी सुविधा विस्तार भइसकेको छ ।
अबको करिब चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोषमार्फत राज्य हुने गरी काम भइरहेको छ । कोषले हरेक श्रमिकको आधारभूत सामाजिक सुरक्षाको सुनिश्चितता गरी प्रत्येक नागरिकले सर्वव्यापी स्वास्थ्य सेवाको पहँुच र जुनसुकै स्वरूपको अशक्ततामा पनि आयको निरन्तरता हुने गरी योगदानमा आधारित पेन्सनको व्यवस्थासहित राज्यको सामाजिक संरक्षणलाई दिगो वनाई समग्र सन्तुलित श्रम बजारको माध्यममार्फत् समग्र उत्पादन र उत्पादकत्व अभिवृद्धि हुने गरी रणनीतिक रूपमा काम गरिरहेको छ ।
कोषको दायरा विस्तारसँगै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।