चुनावमा हारेका विश्व पौडेलले जिते गभर्नर पद

चुनावमा हारेका विश्व पौडेलले जिते गभर्नर पद

वित्तीय नीतिमा राम्रो पकड भएका पौडेल सेयर बजारप्रति सकारात्मक रहे पनि मौद्रिक क्षेत्रमा अनुभव कम रहेको भन्दै आलोचनासमेत भइरहेको छ ।

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • images
    images
    चुनावमा हारेका विश्व पौडेलले जिते गभर्नर पद
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो । आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । राष्ट्र बैङ्कमा चैत २४ गतेदेखि गभर्नर पद रिक्त थियो । 

    प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

    यो बिचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रूपमा अघि सारेका थिए । सत्ता साझेदार दलको लामो माथापच्चीपछि अन्ततः गभर्नर नियुक्ति हुन सकेको हो ।

    अब, उनको सामु बैंकिङ क्षेत्रमा विद्यमान उच्च तरलता, निष्क्रिय कर्जाको वृद्धि, सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट देशलाई हटाउने चुनौती, र वित्तीय क्षेत्रको समग्र स्थायित्व जस्ता महत्त्वपूर्ण जिम्मेवारी छन्।

    बैंक तथा वित्तीय संस्थाहरूको पुँजी प्रतिफल घट्दो क्रममा रहेको अवस्थामा, उपभोक्तामैत्री र सुलभ सेवा उपलब्ध गराउँदै समग्र आर्थिक प्रणालीलाई सन्तुलित बनाउने जिम्मेवारी नवनियुक्त गभर्नर पौडेलको काँधमा छ । 

    को हुन् विश्व पौडेल ? 

    गभर्नरका रूपमा नियुक्त विश्व पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्नियाबाट विद्यावारिधी गरेका छन् । पौडेलको विषय विज्ञता अर्थशास्त्रका अलावा कृषिस्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा छ । 

    उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ । उनी २०७८–८० सालमा अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए भने त्यसअघिको वर्ष २०७८–७९ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

    अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रको बोर्ड अध्यक्षसमेत रहेका पौडेलले सन् २०१५ देखि २०१७ सम्म मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीको रूपमा काम गरेका थिए।

    शैक्षिक तथा शैक्षिक अनुसन्धानतर्फ पनि उनको उल्लेखनीय अनुभव छ। चीनको सिचुवान विश्वविद्यालय, साउथ चाइना एग्रिकल्चर युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा उनले भिजिटिङ प्रोफेसरको रूपमा अध्यापन गरेका थिए।

    पौडेलले माइक्रो फाइनान्स, श्रम र सामाजिक अर्थशास्त्र, वातावरण तथा जलस्रोतसम्बन्धी विषयमा अनुसन्धानपत्रहरू प्रकाशित गरेका छन्। सन् २०१८ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)द्वारा गरिएको ‘नेपालको श्रम बजारको विश्लेषण’ प्रतिवेदनमा पनि उनले योगदान दिएका थिए।

    त्यस्तै, एसियाली मुलुकहरूमा अनौपचारिक क्षेत्रभित्र सक्रिय श्रमिक संघहरूको गतिविधिबारे उनले सिंगापुरस्थित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका लागि समेत अनुसन्धानपत्र तयार पारेका थिए।

    सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक तथा युलेन्स स्कुलको बोर्ड ट्रस्टीको सदस्यको रूपमा काम समेत गरेको अनुभव पौडेलसँग छ । वित्तीय नीतिमा राम्रो पकड भएका पौडेल सेयर बजारप्रति सकारात्मक रहे पनि मौद्रिक क्षेत्रमा उनको अनुभव कम रहेको भन्दै आलोचनासमेत भइरहेको छ । 

    राजनीतिक रूपमा पनि सक्रिय रहेका पौडेलले २०७९ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका थिए। उनी चितवन–३ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए तर रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए ।

    कांग्रेसबाट उम्मेदवारी दिएको कारण उनलाई पार्टी सदस्यता रहेको भन्दै गभर्नर नियुक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो । तर सर्वोच्च अदालतले उक्त मुद्दालाई दरपीठ गरेपछि उनको गभर्नर बन्ने बाटो खुला भएको हो । पौडेल गभर्नर नियुक्त हुने चर्चासँगै सेयर बजार लगातार उकालो लागिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com