स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ ।
बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिए । उनले भने, “गाउँगाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाईसराई रोकिने उनको भनाई छ ।
प्रमुख खाणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको बताए ।
गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उनको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउन नगरपालिकाको योजना रहेको प्रमुख खांणले बताए ।
वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिए ।
१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिती सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उनको भनाई छ ।
छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी, डाक्टर अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाल लगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्वका बारेमा जानकारी गराएको थियो ।
कृषि विकास योजना र रणनीति निर्माण पश्चात पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उनले भने, “काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”