चार बर्षअघि बनिसक्नुपर्ने पुलको १५ प्रतिशत काम, ठेक्का लागेको ७ बर्षपछि डिजाइन परिवर्तन

चार बर्षअघि बनिसक्नुपर्ने पुलको १५ प्रतिशत काम, ठेक्का लागेको ७ बर्षपछि डिजाइन परिवर्तन

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • images
    images
    चार बर्षअघि बनिसक्नुपर्ने पुलको १५ प्रतिशत काम, ठेक्का लागेको ७ बर्षपछि डिजाइन परिवर्तन
    images
    images

    खोटाङ / खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा मोटरेबल पुल निर्माण थालिएको सात वर्ष भयो । विसं २०७६ मै सम्पन्न भइसक्ने गरी निर्माण कम्पनीले सुनकोशीस्थित सो पक्की पुल निर्माण जिम्मा लिएको हो ।

    खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका-१४ साउने जोड्ने धाप्लाङघाट पुलको डिजाइन अहिले आएर फेरिएको छ । 

    मोटरेबल पुलको करीब १५ प्रतिशत काम भएपछि सडक विभागले मोटरेबल पुलको डिजाइन परिवर्तन गरेको हो । 

    ठेक्का लागेर निर्माण सुरु गरिएको सात वर्षपछि धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुलको डिजाइन परिवर्तन गरेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन् ।

     खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनिसकेको भए पनि हालसम्म धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा झोलुङ्गे पुल प्रयोग हुँदै आएको छ ।

    धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोडअनलोड गर्दा किसानले थप व्यायभार खेपिरहेका छन् ।  

    “नदीमा सवारीसाधन वारपार गर्ने अवस्था छैन । पुल तार्न पैसा तिरेर सामान लोड अनलोड गर्नुपर्ने बाध्यता छ”, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम वञ्जराले भने, “बनेर सञ्चालन हुनुपर्ने समय बितेको चार वर्ष भयो । बल्ल डिजाइन परिवर्तन भएको छ । अब कहिले निर्माण सम्पन्न हुन्छ टुङ्गो छैन ।”

    डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले गत फागुन-२८ गतेदेखि धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरेको पाइएको छ । डिजाइन परिवर्तनसँगै निर्माणाधीन मोटरेबल पुलको चार वटा ‘वेल’ फाउण्डेशनको सट्टामा चार वटा ‘पाइल’ फाउण्डेशन ठड्याइनेछ ।

    ठेकेदारले प्राविधिक रुपमा ‘वेल’ फाउण्डेशन बनाउन कठिन भएको भन्दै ‘पाइल’ फाउण्डेशन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’ का लागि गत साउन-१५ गते सडक विभागसँग माग गरेको थियो । 

    ठेकेदार कम्पनीले विसं २०७६ असार-२९ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७३ असार-३० धाप्लाङघाटको मोटरेबल पुल निर्माणको सम्झौता गरेको थियो । 

    म्याद नाघेको चार वर्ष बित्दा ठेकेदारले नदीको दुई किनारमा पिलर मात्र ठड्याएको देखिन्छ । पुल निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीको रु चार करोड ४२ लाख अग्रिम भुक्तानी जमानत भने विभागले तानिसकेको छ ।

    विसं २०७४ भदौ–३१ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धाप्लाङघाटमा निर्माणाधीन दुई सय मिटर लामो मोटरेबल पुल शिलान्यास गरेका थिए । 

    भ्याटबाहेक रु २२ करोड ५० लाखमा विसं २०७६ असार-२९ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    गलत डिजाइनका कारण लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको काम पुनःसुरु गरेको खोटाङ प्रदेशसभा ‘ख’ का प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

    “धाप्लाङघाटमा पहिलेको डिजाइन अनुसार मोटरेबल पुल निर्माण हुने सम्भावना थिएन । ठेकेदार कम्पनीले किन निर्माणको काम अगाडि बढाएन भनेर खोजी गर्दा गलत डिजाइन भन्ने बुझियो”, उनले भने, “विज्ञहरुको सुझावअनुसार अहिले धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको डिजाइन परिवर्तन गरिएको छ । डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको कामसमेत सुरु गरेको छ । अब भने धाप्लाङघाटमा मोटरेबल पुल निर्माण हुने निश्चित भएको छ ।”

    पूर्वी तराईका विभिन्न सहरसँग जोडिन धाप्लाङघाटमा मोटरेबल पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com