काठमाडौँ / संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले भने, ‘पर्यटन पूर्वाधार विकासका लागि लगानी आवश्यक पर्छ । सरकार एक्लैले सबै कुरा गर्न सक्दैन । यसका लागि नीजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्नुपर्छ ।’
मन्त्री पाण्डेले नेपाललाई दृश्यको माध्यमबाट अझ सुन्दर बनाउन देखाउन हामी सबैले लाग्नुपर्नेसमेत बताए । मन्त्री पाण्डेले देशभन्दा बाहिरको मानिस एकपटक आएपछि पटकपटक आउने वातावरण सिर्जना गर्न गरी काम भइरहेको उल्लेख गर्दै थप्, ‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई दृश्यमा ल्याउन सकेमा पर्यटन विकास हुने र यसले आर्थिक समृद्धिको मार्ग तय गर्छ ।’
मन्त्री पाण्डेले किरात सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसलना प्रदान गर्न संघ सरकार प्रतिबद्ध भएकोसमेत मन्त्री पाण्डेले बताए ।
प्रकृति र संस्कृति लाई सँगसँगै लैजानुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले थपे ‘सगरमाथा जसरी उभिएको छ, त्यो गौरव, यससँग जोडिएको हाम्रो विचार, त्यो गौरवसँग जोडिएको हाम्रो दर्शन र हाम्रो अभिभारालाई पूरा गर्न हाम्रा प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरहरुको कथा हामीले सुनाउनुपर्छ र देखाउनुपर्छ ।’