काठमाडौँको काठमाडौँ महानगरपालिका ६ तिनचुलीबाट आज (शुक्रबार) मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका २ घर भई काठमाडौँको कपन बस्दै आएका १९ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
वास्तविक नम्बर प्रदेश ३(०२(०११ प ३६ ९९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२(०१५ प ७७ ९८ राखि तामाङले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल सिन्धुपाल्चोक घर भएका रुकेश आले मगरले यहि वैशाख ५ गते काठमाडौँको नयाँबानेश्वर स्थित थापागाउँबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।