काठमाडौँ / नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाली उद्योग र पुँजीलाई प्रवर्द्धन गर्नु आफूहरूको स्पष्ट नीति रहेको बताएका छन्।
राजधानीमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघसम्बद्ध मजदुर संगठनको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय उत्पादनलाई समर्थन गर्दै श्रमिक र उद्योगीबीच न्यायोचित सहकार्यको खाँचो औँल्याए। पुनका अनुसार, नेपाली पुँजी र श्रमको एकता मुलुकको आर्थिक विकासका लागि अनिवार्य छ।
उनले भने, “उद्यम पनि चल्नुपर्छ, श्रमिकले पनि बाँच्न सक्ने गरी श्रमको मूल्य पाउनुपर्छ। संघर्ष गर्दा व्यवसाय बन्द हुने गरी गर्नु हुँदैन, व्यवसायीले पनि श्रमिकको शोषण गर्नु हुँदैन।”
कार्यक्रममा उनले विशेष रूपमा नेपाली जुत्ता ब्राण्ड ‘गोल्ड स्टार’ को चर्चा गर्दै जनयुद्धकालको सम्झना गरे।
“कहिले काँही गोल्ड स्टार लगाएको आधारमा मानिसलाई माओवादी भनेर गोली चलाइन्थ्यो,” पुनले भने, “आज यो ब्राण्ड भारत, अमेरिका र युरोपसम्म निर्यात हुने गौरवको विषय बनेको छ। ुमेड इन नेपालु लेखिएको जुत्ता विदेशी बजारमा देख्दा गर्व लाग्छ।”
उनका अनुसार, गत वर्ष भारतमा मात्रै १ अर्ब ६० करोड रुपैयाँको गोल्ड स्टार जुत्ता निर्यात भएको तथ्यले देखाउँछ कि नेपालमै उत्पादित सामानले पनि विश्व बजारमा पहिचान बनाउन सक्दछ।
उनले श्रमिक संगठनहरूलाई पनि पार्टीको नीति अनुरूप राष्ट्रवादी र प्रगतिशील उद्योगी व्यवसायीको संरक्षण गर्न आग्रह गरे। कार्यक्रममा पुनले उद्योग, जमिन, मेसिन र श्रमिकको श्रम एकै ठाउँमा मिल्दा मात्रै उत्पादन सम्भव हुने भन्दै दुई पक्षबीच विश्वास र सहकार्य अपरिहार्य रहेको बताए।
उनको भनाइमा, “व्यापार मात्रै होइन, यस्ता उत्पादनमा हाम्रो राष्ट्रियता र पहिचान मिसिएको हुन्छ। गोल्ड स्टार हाम्रो आत्मगौरव बनेको छ।”