नागढुङ्गा–मुग्लिन सडक निर्माण ३३ प्रतिशत सम्पन्न, ७० प्रतिशत मुआब्जा वितरण

नागढुङ्गा–मुग्लिन सडक निर्माण ३३ प्रतिशत सम्पन्न, ७० प्रतिशत मुआब्जा वितरण

आइतवार, साउन ४ २०८२
आइतवार, साउन ४ २०८२
  • नागढुङ्गा–मुग्लिन सडक निर्माण ३३ प्रतिशत सम्पन्न, ७० प्रतिशत मुआब्जा वितरण

    नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ ।

    images
    images

    पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ ।

    सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ । सडकको चौडा गर्ने काम नाली बनाएका क्षेत्रमा भइसकेको छ । थप आठ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने काम बाँकी रहेको छ ।

    सो सडक खण्डमा रहेका छ वटा पुलमध्ये गोमती खोलाको पुलको काम सम्पन्न भएको छ । बाँकी तीन पुलमा साउनभित्रमा ढलान गर्ने योजना रहेको नेपालले बताए ।

    थप दुई पुल वर्षा सकिएपछि काम अघि बढाइने छ । ती पुलमा पिल्लर उठाउने काम भएको छ । आयोजनाले मुआब्जा दिनुपर्नेमध्ये ७० प्रतिशत वितरण गरिसकेको छ । विद्युत्का खम्बा ४०० बाट सार्नु पर्नेमा ३०३ वटा सारिएको छ । 

    वर्षात्को समयमा पुलको ढलानको काम र निर्माण सामग्री प्रशोधनको काम मात्र हुने गर्दछ। नेपालले भदौपछि अरु काम थालिने बताए । यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक सात दशमलव दुई किलोमिटर हुनेछ । 

    यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ । बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ ।

    वि.सं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो । 

    पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुङ्गा सडकखण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ ।

    शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने हुन्छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।

    काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो सडक रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चापदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको हो । यससँगै सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको नेपालले बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय