काठमाडौँ / साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । पछिल्लो समय निरन्तर बढेको नेप्से आइतबार ०.३२ अङ्क बढेर २८७०.९५ विन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अङ्कले घटेको छ । आइतबार कारोबारमा आएका ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता सेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले मात्रै बढेको भए पनि कारोबार भने उच्च अङ्कले बढेको छ । गत बिहीबार साढे १६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज करिब साढे २१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक ३.३६ प्रतिशत, होटल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
जसमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ । तर, यता समृद्धि फाइनान्सको सेयर मूल्य भने ८.८८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।