काठमाडौँ / काठमाडौँ चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ ।
सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो–हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्त्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।
चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु मलिकाले भनिन् “सडकमा हिड्न एकदमै गाह्रो छ । मेन रोडबाट हिँड्न खोज्यो भने गाडीले ठोकिदेला कि भन्ने डर, छेउतिर हिँड्न खोज्दा धुलो र खाल्डाखुल्डीको जोखिम छ । एउटा गाडी पास भएपछि त्यस्तो धुलो उठ्छ कि हिँड्नै नसकिने हुन्छ ।”
उनले धुलोका कारण स्वास्थ्यमा असर परेको सुनाइन्, “धुलोका कारण एलर्जी हुन्छ, राति गएर एलर्जीको औषधि खानुपर्छ । अन्य सर्वसाधारण मानिसको स्वास्थ्यमा कति असर पुर्याइरहेको होला ।”
सरकारले चाडै सडक निर्माण सम्पन्न गर्न समेत उनले अनुरोध गरिन् । “रोड भनेको जतिसक्दो छिटो बनाउनुपर्ने हो । हामी हिँड्ने बाटो ढिला बनाउँदा जनताले सास्ती भोग्नु परेको छ । राज्यले विकासमा हेलचेक्र्याइँ गर्नु हुँदैन,” उनले भनिन् ।
१० वर्षदेखि ट्याक्सी चलाउँदै आएका बुद्धिबहादुर तामाङ सडकको अवस्थाबाट अत्यन्त असन्तुष्ट छन् । “थोरै परिवर्तन देखिए पनि अपेक्षाकृत सुधार भएको छैन । यस्तो खाल्डा–खुल्डी सडकमा गाडी चलाउँदा बारम्बार मर्मत गर्नुपर्छ” उनले गुनासो गरे ।
तामाङ भन्छन्, “राज्यले समयमै सडक बनाए हामी सवारी चालकलाई राहत मिल्थ्यो । अहिले त गाडी बिग्रेको खर्च पनि थेग्न मुस्किल छ ।”
चक्रपथ क्षेत्रमा व्यापार गर्दै आएका गोपाल शाही नौं वर्षदेखि दैनिक सोही सडक प्रयोग गर्दै आइरहेका छन् । सडक बनाउने काममा राज्यले गरेको ढिलाइले व्यापारीलाई ठूलो असर परेको उनले सुनाए ।
उनका अनुसार धुलोका कारण स्वासप्रश्वासका समस्या बढेका छन् । “साझपख खोकी लाग्ने, छाति भारी हुनेजस्ता समस्या सामान्य जस्तै भएका छन् । जनताका लागि राम्रो सडक भए धेरै सजिलो हुन्थ्यो । राजधानीमै यस्तो अवस्था छ भने देशका अन्य ठाउँको अवस्था कस्तो होला ?”
विगत १४ वर्षदेखि सोही क्षेत्रमा व्यापार गर्दै आएका शिवराज पौडेल १० बर्षदेखि सडकको अवस्था उस्तै रहेको सुनाउँछन् । “म जबदेखि यहाँ आएँ, तबदेखि नै यो सडक विस्तारकै क्रममा थियो । यतिका वर्षसम्म पनि नबन्नु दुर्भाग्यपूर्ण हो,” उनले भने ।
उनले लामो समयसम्म सडक निर्माण नहुनुका कारण व्यापारमा असर परेको बताए । “धुलो, हिलोका कारण ग्राहकहरू घटेका छन् । पार्किङको समस्याले झनै व्यापार गर्न गाह्रो भएको छ,” पौडेल भन्छन् ।
चक्रपथको दोस्रो खण्डमा भइरहेको सडक विस्तारको लामो ढिलाइले जनजीवनमा गहिरो असर पारेको छ । यात्रुहरू हिँड्न सक्दैनन्, सवारी चालकहरूका गाडी बिग्रन्छन्, व्यापारीहरूको व्यापार घटेको छ ।
राज्यको बेवास्ता र ढिलासुस्तीको चपेटामा परेको यो आयोजना राजधानीमा विकासको नाममा देखिएको चरम लापरवाहीको प्रतिक बनेको छ । यसरी चक्रपथ विस्तारको दोस्रो सडकखण्डमा वर्षसँगै घाँस उम्रिएर हरियाली हुँदै गएको छ । सडक विस्तारमा ढिला गरिदा झारले सडक ढाकेको हो ।
चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन ।
चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ भएका कारण सर्वसाधारणले सास्ती व्यहोरेका हुन् । यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । तर सबै काम सकिए पनि सडक विस्तारको काम हुन सकेको छैन । चीनको विभिन्न प्राविधिक टोलीले सडकको फिल्ड अध्ययन गरेपनि प्रक्रिया अगाडि नबढ्दा समस्या देखिएको हो ।
त्यस्तै, सोही सडकको बाँकी काम अघि बढाउनेगरी ०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०८१ मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । तर आज ०८२ साउन महिनासम्म पनि काम अगाडि बढ्न सकेको छैन ।