काठमाडौँ / पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा धेरै रहेको देखिएको छ । क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबर रहेको पाइएको हो । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो ।
यसअघि आव २०७९/८० मा कम्पनीको यस्तो आय २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । सन् १९८६ मा सञ्चालन भएको सूर्य नेपाल प्रालिमा यसको होल्डिङ कम्पनी आइसीटि लिमिटेड इन्डियाको समेत ५९ प्रतिशत शेयर रहेको छ ।
यसबाहेक करिब ३९ प्रतिशत सेयरमा नेपाली व्यक्तिगत तथा संस्थागत सेयरधनीहरूको समूह छ र बाँकी २ प्रतिशत ब्रिटिस अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेड बेलायतको स्वामित्वमा रहेको छ । सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा ठुलो निजी क्षेत्रको उद्योग हो ।
यो कम्पनी हाल नेपालमा चुरोट, अगरबत्ती र ब्रान्डेड प्याकेज गरिएका खानाको व्यवसायमा संलग्न छ । कम्पनीले सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड नामक पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी समावेश गरेको छ, जुन धूपबत्ती (अगरबत्ती) को उत्पादन र बिक्रीमा संलग्न छ ।
कम्पनीसँग बलियो होल्डिङ कम्पनी आइसीटी लिमिटेडबाट प्राप्त क्षमता र विशेषज्ञता छ । सन् १९१० मा स्थापित आइसीटि लिमिटेड इन्डियाको भारतको अग्रणी निजी क्षेत्रको कम्पनीहरूमध्ये एक हो । जसको उत्पादन र सेवाहरूको बिक्रीबाट कुल राजस्व आव २०२५ मा लगभग भारु ७३४.६५ बिलियन रहेको छ ।
सूर्य नेपाल प्रालि ३५ वर्षभन्दा बढी समयदेखि चुरोट उत्पादनको व्यवसायमा रहेको छ । यस कम्पनीले उपभोक्ताको स्वाद र प्राथमिकताको विस्तृत दायरा पूरा गर्न सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, सूर्या फ्युजन, सूर्य स्लीक बोल्ट, शिखर फिल्टर किंग्स, शिखर आइस रस, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी जस्ता विभिन्न सफल ब्रान्डहरू निर्माण गरेको छ ।
यस कम्पनीको निर्देशक बोर्डको समग्र मार्गदर्शनमा व्यावसायिक रूपमा व्यवस्थित कम्पनी हो । सूर्य नेपालको अध्यक्ष रहेका सञ्जीब पुरी आइसीटीका समेत अध्यक्ष र प्रबन्ध निर्देशक हुन् ।
भारतीय प्रविधि संस्थान, कानपुर र व्हार्टन स्कूल अफ बिजनेसका पूर्व विद्यार्थी समेत रहेका पुरीसँग व्यवस्थापनको क्षेत्रमा उच्च अनुभव रहेको छ ।