पोखरा / निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूमा समेत भुक्तानी नपाएको गुनासो गरेका छन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनामा पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् ।
“अहिले निर्माण व्यवसायीको मुख्य समस्या भनेको नै भुक्तानी नपाउनु हो । स्थानीय निकायहरूमा भुक्तानीको अभाव नै छ ।
अहिलेको क्लोजीङको समयमा २५ गते बन्द हुने खाता अहिलेसम्म स्थानीय निकायबाट फछर्यौट भएका छैनन् । स्थानीय र प्रदेश सरकारका योजनाहरूमा व्यवसायीले सम्पन्न गरीसकेका परियोजनाहरूमा भुक्तानी नपाएको अवस्था छ ।
व्यवसायीको स्थिति दयनिय नै छ । कति जनाको चेक बाउन्स भएर व्यवसायी सङ्गठनले फेरी मुद्दा लड्नुपर्ने अवस्था छ,” उनले भने ।
महासंघले पनि बेलाबेलामा भुक्तानीका समस्यामा ऐन नियम बनाएर अगाडि बढ्नुपर्ने उनले बताए ।
“यस्तो समसया आउनुमा व्यवसायीको पहुँच नपुगेको हो कि ? केन्द्र सरकारलाई नै झकझक्याउनु पर्ने हो कि ? भनेर हामी महासंघसँग कुरा गरिराखेका हुन्छौँ । लुम्बिनीलगायत कतिपय स्थानमा त पाँच दिन अघि नै खाता बन्द गरेर भागेको अवस्था पनि छ,” उनले भने ।
अबचाहिँ महासंघ र सम्पूर्ण निर्माण व्यवसायीहरू एकजुट भएर नै लाग्नुपर्ने उनको सुझाव छ । आन्दोलन नै नगरिकन र आफ्ना मेसिनहरू बाटोमै न तेर्साएसम्म माग पूरा हुने अवस्था नदेखिएको भन्दै उनले व्यवसायीलाई नाफाको सट्टामा लगानी नै डुब्ने अवस्था रहेको बताए ।
“व्यवसायीको पहिलो धर्म भनेको नाफा नै हो । लगानी गरिसकेपछि केही नाफा चाहिन्छ भन्ने व्यवसायिक धर्म नै हो । यहाँ त नाफा त के आफ्नो लगानी भएको पुँजी नै डुब्ने स्थितिमा छ ।”
महासंघले पनि यसमा केन्द्र र प्रदेश सरकारसँग किन भुक्तानी भएको छैन भनेर समन्वय गर्नुपर्ने उनको तर्क छ । स्थानीय निकायहरूलाई दिने अनुदानहरू किन अन्तिममा आएर काटिन्छन् ? उनले पश्न गरे ।
“उनीहरूको कमजोरी आफ्नो ठाउँमा होला भुक्तानी आउँछ भनेर पहिल्यै टेन्डरमा गइसकेको हुन्छ । हामीले भुक्तानी किन पाइएन भनेर सोध्दाखेरी पर्फमेन्स राम्रो नभएर समानिकरण अनुदान काटियो भन्ने गरिन्छ । त्यसको मार चाहिँ व्यवसायीले किन बेर्होने ? यदि राज्यले बेलामा भुक्तानी गर्दैन भने त्यसको टेन्डर पनि निकाल्नु हुँदैन । स्रोत सुनिश्चित नभइकन टेन्डरमा नगइदियो भने व्यवसायीहरूलाई समस्या हुँदैन,” उनले बताए ।