काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा व्यवसायबाट ६ करोड ६१ लाख रुपैयाँ र निर्जीवन व्यवसायबाट ५२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ६० करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने जीवन व्यवसायबाट २ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यस्तै, समिक्षा अवधिमा निर्जीवन बीमा तर्फबाट जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख संचिती रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा निर्जीवन बीमा तर्फ ३ अर्ब ९१ करोड संचिती थियो । अघिल्लो वर्षको तुलनामा यस अवधिमा निर्जीवन बीमा तर्फको जगेडा कोष ८७ करोड ६५ लाख रुपैयाँले बढि हो । त्यस्तै, यस अवधिमा जीवन बीमा तर्फको जगेडा कोषमा ६० करोड २५ लाख संचिती छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको जीवन बीमा तर्फको संचिती ५९ करोड ५ लाख रहेको थियो । अघिल्लो वर्षको तुलनामा जगेडा कोषमा संचिती १ करोड २० लाख रुपैयाँले बढेको हो ।
अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा तर्फको खुद बीमा शुल्क आर्जन बढेको छ भने निर्जीवन बीमा तर्फको खुद बीमा शुल्क घटेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्क ४५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ४ अर्ब २६ करोड ७० लाख ३२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
जसमध्ये जीवन बीमा व्यवसायतर्फबाट १ अर्ब ४६ करोड अर्जन गरेको हो भने निर्जीवन बीमा व्यवसायतर्फबाट २ अर्ब ७९ करोड ८२ लाख आर्जन गरेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब ८६ करोड ८९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । जसमध्ये ६ अर्ब ५३ करोड निर्जीवन बीमा व्यवसायतर्फको खुद बीमा शुल्क हो भने १ अर्ब ३२ करोड जीवन बीमा व्यवसाय तर्फको खुद बीमा शुल्क हो ।
यस्तै, समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसायबाट कम्पनीले ५२ करोड ९ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ६० करोड २१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमा व्यवसायको नाफामा गिरावट आएको छ । त्यस्तै, यस समिक्षा अवधिमा कम्पनीले जीवन बीमा व्यवसायबाट ६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा व्यवसायतर्फको नाफा २ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा थियो ।
लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ १ अर्ब ५ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ ५३ लाख ८५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः ६६ करोड १७ लाख रुपैयाँ र ३ करोड १७ लाख रुपैयाँ थियो।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६ दशमलव ४० प्रतिशतले बढेको छ । यस अवधिमा कुल ४ अर्ब ३२ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जसमध्ये निर्जीवन तर्फ ३ अर्ब २५ करोड २५ लाख खुद दाबी भुक्तानी भएको छ भने जीवन तर्फ १ अर्ब ७ करोठ खुद दाबी भुक्तानी भएको छ । अघिल्लो वर्षको तुलनामा निर्जीवन र जीवन दुबै तर्फको खुद दाबी बृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ८२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेको छ ।