साउनमा १ अर्ब बढिको बीमालेख समर्पण, नेपाल लाईफले सबैभन्दा धेरै, अन्य कुन कम्पनीको कति ?

साउनमा १ अर्ब बढिको बीमालेख समर्पण, नेपाल लाईफले सबैभन्दा धेरै, अन्य कुन कम्पनीको कति ?

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ व्यवसायबाट भित्रिएको बीमाशुल्कको ५५.८५ प्रतिशत रकम समर्पण मूल्य वापतको भुक्तानीबाट बाहिरिएको छ।

बुधवार, भदौ २० २०८०
बुधवार, भदौ २० २०८०
  • साउनमा १ अर्ब बढिको बीमालेख समर्पण, नेपाल लाईफले सबैभन्दा धेरै, अन्य कुन कम्पनीको कति ?

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीमा नयाँ व्यवसायबाट कूल २ अर्ब २९ करोड ७४ लाख ८० हजार रुपैयाँ भित्रिदा समर्पणबाट १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ।

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ व्यवसायबाट भित्रिएको बीमाशुल्कको ५५.८५ प्रतिशत रकम समर्पण मूल्य वापतको भुक्तानीबाट बाहिरिएको छ। प्रथम् बीमाशुल्क आम्दानीको तुलनामा समर्पण दर उच्च हुँदा जीवन बीमा कम्पनीको सञ्चालन खर्च बढेर जीवन बीमा कोषमा दबाब पर्छ ।

    पछिल्लो समय जीवन बिमा कम्पनीहरूमा बीमा पोलीसी सरेण्डर (बीमालेख समर्पण) गर्नेको संख्या बढ्दो क्रममा छ। पहिले पनि बीमा सरेण्डर बढेपछि समितिले जीवन बीमालेखसम्बन्धी निर्देशिका–२०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था गरेको थियो।जसमा बीमालेख खरिद गरेको एक वर्षमा नै समर्पण गर्न पाउने व्यवस्थालाई बढाएर तीन वर्ष पुर्‍याइएको थियो। 

    नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै

    चालु अर्थिक बर्षको साउन महिनामा सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरू मध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समर्पण मूल्यवापत सबैभन्दा धेरै भुक्तानी गरेको छ। १ महिनामा नेपाल लाईफ इन्स्योरेन्सको ३ हजार ३२४ बीमितले ४७ करोड २३ लाख ७ हजार रुपैयाँ समर्पण मूल्यवापत भुक्तानी गरेको छ। 

    यो कम्पनीले साउनमा नयाँ बीमालेखको बिक्रीबाट ५६ करोड ३१ लाख ८७ हजार रुपैयाँ प्रथम् बीमाशुल्क भित्र्याउँदा यसको ८३‍.८६ प्रतिशत रकम समर्पण मूल्यवापत भुक्तानीबाट बाहिरिएको छ। 

    प्रथम् बीमाशुल्क आम्दानीमा अग्रणी रहेकोमा नेपाल लाइफ समर्पण मूल्य भुक्तानी रकमको आधारमा पनि अग्रणी देखिएको छ। साउन महिनामा मात्रै नेपाल लाइफका ३ हजार ३२४ बीमितले पोलिसी सरेन्डर गरेका हुन् । 

    सन नेपाल लाइफको सबैभन्दा कम 

    चालु अर्थिक बर्षको साउन महिनामा सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरू मध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समर्पण मूल्यवापत सबैभन्दा कम भुक्तानी गरेको छ। १ महिनामा सन नेपाल लाइफको १३ बीमितले ११ लाख ८७ हजार रुपैयाँ समर्पण मूल्यवापत भुक्तानी गरेको छ। 

    यो कम्पनीले साउनमा नयाँ बीमालेखको बिक्रीबाट १० करोड २९ हजार रुपैयाँ प्रथम् बीमाशुल्क भित्र्याउँदा यसको १.१९ प्रतिशत रकम समर्पण मूल्यवापत भुक्तानीबाट बाहिरिएको छ। 

    अन्य कुन बीमा कम्पनीको कति ? 

    नेपाल लाइफपछि दोश्रो सर्वाधिक समर्पण मूल्य भुक्तानी गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) रहेको छ। एलआइसीले ३१ करोड २५ लाख ८२ हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेको छ। प्रथम् बीमाशुल्क आम्दानीभन्दा बढी रकम समर्पण मूल्यबाट बाहिरिएको छ। 

    यस्तै, रकमको आधारमा तेश्रो सर्वाधिक ठूलो रकम समर्पण मूल्य भुक्तानी गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स हो । हिमालयन लाइफले १२ करोड २२ लाख ६ हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेको छ।

    त्यसैगरी, राष्ट्रिय बीमा संस्थानले १० करोड ३२ लाख ८९ हजार रुपैयाँ, सुर्य ज्योती लाइफले ७ करोड ४६ लाख १२ हजार रुपयाँ, एसियन लाइफले ५ करोड ८४ लाख ४४ हजार रुपैयाँ, नेश्नल लाइफले ४ करोड ५५ लाख १७ हजार रुपैयाँ, मेट लाइफले ४ करोड ३९ लाख ९० हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ करोड ५१ लाख १७ हजार रुपैयाँ, सिटिजन लाइफले १ करोड १४ लाख ९० हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेको छ।

    यस्तै, चार कम्पनीको समर्पण मूल्य भुक्तानी करोड भन्दा कम रहेको छ । जसमा सन नेपाल लाइफले सबैभन्दा कम ११ लाख ८७ हजार रुपैयाँ, आइएमई लाइफले ९९ लाख ९३ हजार रुपैयाँ, रिलायबल लाइफले ९० लाख ८२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३५ लाख २३ रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेको छ।

    बीमालेख समर्पण गर्नु भनेको के हो ? 

    जीवन बीमालेख समर्पण गर्नु भनेको बीमालेख सधैंका लागी रद्द गर्नु हो । यसरी रद्द गर्दा तपाईले समर्पण मूल्य पनि प्राप्त गर्नुहुन्छ । समर्पण मूल्य भनेको कुनै पनि बीमालेखको नगद मूल्यबाट समर्पण शुल्क कट्टा गरी बाँकी रहेको रकमहो । 

    यदी तपाई समर्पण रोज्नुहुन्छ भने जोखिम रक्षावरण समाप्त हुन्छ र तपाईको मृत्युपछि तपाईको इच्छ्याइएको व्यक्ति वा कानूनीहकवालाले कुनै लाभ प्राप्त गर्न सक्ने छैनन् ।

    बीमा नियामक बीमा समितिले २०७८ असार देखि लागू गरेको बीमालेख निर्देशिका २०७८ का अनुसार बीमालेखमा समर्पण मूल्य प्राप्त गर्न कम्तीमा ३ वर्षको किस्ता रकम पुरै भुक्तानी गरेको हुनुपर्छ । यसबाहेक बीमालेख जारी गरेको पनि ३ वर्ष पुरा भएको हुनुपर्छ । अन्यथा बीमितले चाहेर पनि बीमालेख समर्पण गर्न पाउँदैन ।

    किन हुन्छ बीमालेख समर्पण ?

    पछिल्लो समयमा बजारमा तरलता अभाव र आर्थिक संकटले सर्वसाधारणले पैसाको जोहो गर्ने क्रममा बीमालेख समर्पणमा दबाब परेको हो । योसँगै सर्वसाधारणसँग लामो समयका लागी जीवन बीमामा लगानी गर्ने प्राथमिकतामा पर्न छोडे पछि समर्पणका लागी अभिकर्ता र बीमा कम्पनीका कर्मचारीले समेत दुरूत्साहन गर्न थालेका छन् ।

    नयाँ बीमालेख बिक्री गर्दा प्राप्त हुने प्रथम् बीमाशुल्कको तुलनामा पुरानो बीमालेख नविकरणवापतको आम्दानी थोरै हुने भएकाले अभिकर्ताले पनि पुरानो नविकरणभन्दा नयाँ बीमालेख बिक्रीलाई प्राथमिकतामा पार्ने गरेका छन् । 

    नयाँ बीमालेख बिक्री गर्दा प्रथम् बीमाशुल्कको २५ प्रतिशत कमिशनबाहेक १८ प्रतिशत थप इन्सेन्टिभ समेत प्राप्त हुने भएकाले अभिकर्तालाई नयाँ बीमालेखको बिक्री बढी आकर्षक हुन्छ। 

    यसबाहेक पहिलो वर्ष २५ प्रतिशत, दोश्रो वर्ष १५ प्रतिशत र तेश्रो वर्ष ५ प्रतिशत कमिशनसँगै पहिलो वर्ष १८ प्रतिशत इन्सेन्टिभ समेत आम्दानी गरिसकेपछि अभिकर्ताले बीमितलाई प्रभावित पारेर बीमालेख समर्पण गर्न र नयाँ बीमालेख खरिद गर्न दुरुत्साहित पार्ने प्रवृत्ती पनि छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय